चितवन विशेष
भरतपुर महानगरको सबै वडाका १०२ जना मेलमिलापकर्तालाई तालिम

चितवन, माघ २४–
भरतपुर महानगरपालिकाले १०२ जना नयाँ मेलमिलाप कर्ताहरुलाइ तालिम दिएको छ ।
विभिन्न दुई चरणमा गरी १०२ जना नयाँ मेलमिलाप कर्ताहरुलाइ तालिम दिएको हो ।
न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले भरतपुर महानगरपालिकाले प्रथम चरणको तालिम माघ ९ गते देखि १६ गते सम्म र दोस्रो चरणको तालिम १७ गते देखि २४ गते सम्म दिइएको जनाएको छ ।
भरतपुर महानगरपालिकाले २९ वटै वडाबाट छनौट भएर आएका नयाँ मेलमिलापकर्ताहरुलाइ तालिमद्वारा दीक्षित गराएको हो । महानगरपालिकाले सुशासन तथा विकास प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा दुई चरणमा गरी माघ ९ गते देखि २४ गते सम्म १६ दिवसीय (९६ घण्टे) आधारभूत तालिमको आयोजना गरेको हो । तालिम समापन कार्यक्रममा भरतपुरका उपमेयर चित्रसेन अधिकारीले अन्यायमा परेका सबै नागरिकले न्याय पाउने गरी १०२ जनालाई तालिमद्वारा दीक्षित गराइएको बताए । न्याय सम्पादनको क्षेत्रमा उदाहरणीय काम गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिकाले नयाँ मेलमिलापकर्ताहरुलाइ आधारभूत तालिम प्रदान गरेको उनको भनाइ छ ।
उपमेयर अधिकारीले न्यायको क्षेत्रमा भरतपुर महानगरपालिका अगाडि बढिसकेको उल्लेख गरे । न्यायका हरेक गतिविधिमा अब जनतासँग भरतपुर महानगरपालिका प्रत्यक्ष सहयोगीको रुपमा रहने छ न्यायिक समितिका संयोजक समेत रहेका अधिकारीले भने, ‘न्याय नपाएर अब कोही पनि अन्यायमा पर्ने छैन । न्यायको अनुभूती सबै नागरिकले पाउने गरी महानगरले काम गरिरहेको छ ।’ उनले देशका ७५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने गरी तालिमको आयोजना गरिएको पनि बताए । ‘यो तालिम पश्चात् मेलमिलापकर्ताहरुको माध्यमबाट अब भरतपुरमहानगरबासी आम नागरिकहरुले न्याय पाउनु हुने छ भन्नेमा म पूर्ण बिश्वस्त समेत रहेको छ’, उपमेयरले भने । विवादरहित समाजको निर्माण गर्न यो तालिम कोशे ढुंगा सावित हुने पनि अधिकारीको विचार रहेको छ ।

कार्यक्रममा चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापाले अदालतले गर्नुपर्ने काम महानगरपालिकाले गरेकोमा खुसी व्यक्त गरे । यस्तै भरतपुर महानगरका कानुनी सल्लाहकार गोपिलाल देबकोटाले ससाना मुद्दाहरुलाई तल्लो तहबाटै समाधान गर्ने काम मेलमिलाप समिति मार्फत हुँने हुँदा यस्तो खालको तालिम आयोजना गरिएको प्रष्ट पारे । साथै उनले मध्यस्तकर्ताको रुपमा मेलमिलाप समितिले काम गर्ने तथा न्याय सम्पादन गर्ने सवालमा मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहने पनि बताए ।
कार्यक्रममा सुशासन तथा विकास प्रतिष्ठान काठमाडौँका प्रमुख महेन्द्र लम्सालले मेलमिलापको माध्यमबाट स्थानीयस्तरमा हुने गरेका विवादहरुलाई न्यायिक निरोपण गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । २९ वटा वडा कार्यलयहरुबाट सिफारिस भइ आएका नयाँ मेलमिलापकर्ताहरुलाइ दुई चरणमा बिभाजन गरि तालिमद्वारा दीक्षित गरिएको कानुनी मामिला शाखाका कृष्णप्रसाद सापकोटाले जानकारी दिए । समाजमा हुने गरेका हरेक घटनाहरुलाई मेलमिलाप पद्धतिबाट न्यायिक निरोपण गर्नुपर्ने भएकोले यो तालिम आयोजना गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ । तालिममा बन्धुराज पौडेल र कविता अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिम अवधिभर भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य विष्णुबहादुर भुजेल, शारदा पोख्रेल, कानुनी सल्लाहकार गोपीलाल देवकोटा, महानगरस्तरीय केन्द्रीय मेलमिलाप सयोजक मुक्तिनाथ अधिकारी, उपप्रमुख सचिवालय सदस्य आशिष अधिकारी, कानुनी मामिला शाखाका कर्मचारी कृष्णप्रसाद सापकोटा, जेनी महतो लगायतको उपस्थिति रहेको थियोे ।


























