चितवन विशेष

फोनिज चितवनको साधारण सभा फागुन १२ गते इच्छाकामनामा हुने

०
Banner

चितवन, माघ २४–

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज) ले नवौं साधारण सभा फागुन १२ गते इच्छाकामनाको वडा नम्बर ७ मा गर्ने भएको छ ।

कार्यसमितिको बैठकले यही फागुन १२ गते पहिलो पटक संस्थागत जिम्मेवारीअन्तर्गत साधारण सभा गर्न लागेको अध्यक्ष रमेश रानामगरले जानकारी दिएका हुन् ।

इच्छाकामना सञ्चार क्षेत्रबाट ओझेलमा परेको र जनजातिको उच्च बस्ती रहकाले सो ठाउँमा साधारण सभा गर्न लागेको उनले बताए । उनले भने, ‘चितवन टाढाबाट हेर्दा विकासमा अघि बढेको देखिन्छ । तर, यहाँ इच्छाकामना जस्तो गाउँपालिका पनि छ । जहाँ बिद्युत् पुगेको छैन । सडक राम्रोसँग बनेको छैन । शिक्षा, आर्थिक क्षेत्र पनि कमजोर छ । सञ्चार क्षेत्रको आँखा पनि राम्रोसँग पुगेको छैन । मुख्य गरी जनजाति समुदायको बासस्थान बनेको इच्छाकामनालाई चिनाउन फोनिजले यहाँ साधारणसभा गर्न लागेको हो ।’

रानामगरले साधारण सभामा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन पेस गरिने र संस्थागत आगामी कार्यविधिबारे छलफल गरिने बताए । साधारण सभामा संस्थाको गतिविधिलाई समेटेर ‘फोनिज बुलेटिन’ प्रकाशन गर्ने योजनामा फोनिज रहेको रानामगरले जानकारी दिए ।

पुस्तकमा नयाँ कार्यसमितिको सुरुवाती चरणदेखि हालसम्मका गतिविधिलाई समेटिने उनले बताए । फोनिजले प्रकाशन गर्न लागेको यो बुलेटिन दोस्रो हो भने यसअघि निवर्तमान सन्दिप श्रेष्ठको कार्यकालमा पहिलो पटक ‘फोनिज सन्देश’ विमोचन गरिएको थियो । बैठकले संस्थाको साधारण सदस्यता नविकरणको लागि २०० र नयाँ सदस्यताको लागि ५०० शुल्क लिई सदस्यता दिलाउने निर्णय समेत गरेको छ ।

फोनिजमा तामाङ पत्रकार संघ, तमु पत्रकार संघ, थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दबु, मगर पत्रकार संघ गरी जम्मा ५ वटा जनजातिका संगठनहरुको सहभागिता रहे पनि अन्य जातिको संगठन बिस्तार हुने क्रममा रहेको छ । अहिले फोनिजमा १३० जना जनजाति पत्रकार आवद्ध रहेका छन् । बैठकमा संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, उपाध्यक्ष तुलमान गुरुङ, कोषाध्यक्ष सुनिल श्रेष्ठ तथा सदस्यहरु लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>