चितवन विशेष

फोनिज चितवनको साधारण सभा फागुन १२ गते इच्छाकामनामा हुने

Banner

चितवन, माघ २४–

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज) ले नवौं साधारण सभा फागुन १२ गते इच्छाकामनाको वडा नम्बर ७ मा गर्ने भएको छ ।

कार्यसमितिको बैठकले यही फागुन १२ गते पहिलो पटक संस्थागत जिम्मेवारीअन्तर्गत साधारण सभा गर्न लागेको अध्यक्ष रमेश रानामगरले जानकारी दिएका हुन् ।

इच्छाकामना सञ्चार क्षेत्रबाट ओझेलमा परेको र जनजातिको उच्च बस्ती रहकाले सो ठाउँमा साधारण सभा गर्न लागेको उनले बताए । उनले भने, ‘चितवन टाढाबाट हेर्दा विकासमा अघि बढेको देखिन्छ । तर, यहाँ इच्छाकामना जस्तो गाउँपालिका पनि छ । जहाँ बिद्युत् पुगेको छैन । सडक राम्रोसँग बनेको छैन । शिक्षा, आर्थिक क्षेत्र पनि कमजोर छ । सञ्चार क्षेत्रको आँखा पनि राम्रोसँग पुगेको छैन । मुख्य गरी जनजाति समुदायको बासस्थान बनेको इच्छाकामनालाई चिनाउन फोनिजले यहाँ साधारणसभा गर्न लागेको हो ।’

रानामगरले साधारण सभामा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन पेस गरिने र संस्थागत आगामी कार्यविधिबारे छलफल गरिने बताए । साधारण सभामा संस्थाको गतिविधिलाई समेटेर ‘फोनिज बुलेटिन’ प्रकाशन गर्ने योजनामा फोनिज रहेको रानामगरले जानकारी दिए ।

पुस्तकमा नयाँ कार्यसमितिको सुरुवाती चरणदेखि हालसम्मका गतिविधिलाई समेटिने उनले बताए । फोनिजले प्रकाशन गर्न लागेको यो बुलेटिन दोस्रो हो भने यसअघि निवर्तमान सन्दिप श्रेष्ठको कार्यकालमा पहिलो पटक ‘फोनिज सन्देश’ विमोचन गरिएको थियो । बैठकले संस्थाको साधारण सदस्यता नविकरणको लागि २०० र नयाँ सदस्यताको लागि ५०० शुल्क लिई सदस्यता दिलाउने निर्णय समेत गरेको छ ।

फोनिजमा तामाङ पत्रकार संघ, तमु पत्रकार संघ, थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दबु, मगर पत्रकार संघ गरी जम्मा ५ वटा जनजातिका संगठनहरुको सहभागिता रहे पनि अन्य जातिको संगठन बिस्तार हुने क्रममा रहेको छ । अहिले फोनिजमा १३० जना जनजाति पत्रकार आवद्ध रहेका छन् । बैठकमा संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, उपाध्यक्ष तुलमान गुरुङ, कोषाध्यक्ष सुनिल श्रेष्ठ तथा सदस्यहरु लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>