Breaking News
सन्दीपलाई राष्ट्रिय टिममा राखेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखे, ‘क्रिकेटका मुलि नाङ्गै हिँडे @PM_nepal_ सरकार कता छ ?’

काठमाडौं, माघ २०-
बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले #BycottCAN अभियान चलाएका छन् । उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन् ।
बसन्त गौतमले #BycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।’
तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मुलिहरु त नाङ्गै हिँडे @PM_nepal_ सरकार कता छ ?’
माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन १ सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान#BycottCAN’


























