चितवन विशेष
निकुञ्जका ५८ वटा सिमसार उच्च जोखिममा

प्रतिमा कुमाल
भरतपुर,माघ १९-
चितवन राष्ट्रिय निकुञ्जका ५८ वटा सिमसार उच्च जोखिममा रहेको अनुसन्धानले देखाएको छ । विश्व सिमसार दिवसको अवसरमा चितवनमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ युनिर्भसीटिका पूर्वरजिस्टार प्रा डा.सुवोद शर्माले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘चितवन राष्ट्रिय निकुञ्जमा ८३ वटा सिमसार क्षेत्र रहेका छन् । यीमध्ये ५८ सिमसार उच्च जोखिममा छन् । ८ वटालाई तुरुन्तै संरक्षण गर्नुपर्ने देखिन्छ । निकुञ्ज भित्रका २१ सिमसारमध्ये १३ वटा ठीकै अवस्थाका छन् । मध्यवर्ती क्षेत्रका दुई र निकुञ्ज क्षेत्रका तीन गरी पाँच वटा सिमसार उत्कृष्ट अवस्थामा फेला परेका छन् ।’
वल्र्ड वाइड फण्ड अप नेचर, निकुञ्ज विभाग, प्रकृति संरक्षण कोष, जलीय पर्यावरण केन्द्र, काठमाडौँ विश्व विद्यालयले विभिन्न समया गरेको अध्ययनलाई आधार मानेर गरिएको अध्ययनबाट यस्तो निष्कर्ष आएको शर्माले बताउनुभयो । सिमसारलाई ८ वटा श्रेणीमा वर्गीकगर गरी अध्ययन गरिएको शर्माले बताउनुभयो । प्रा डा शर्माले वन क्षेत्र भन्दा तीन गुणा छिटो सिमसार क्षेत्र हराउँदै गएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘१९७० देखि हालसम्म कम्तिमा ३५ प्रतिशत सिमसार क्षेत्र हराएको छ । यो भन्दा पहिला सन् १७०० देखि अहिलेसम्म सिमसार क्षेत्रको ८० प्रतिशत भन्दा बढी क्षेत्रफल हराएका छन् । यो पृृथ्वीको सबैभन्दा खतरनाक इकोसिस्टम हो ।’ सिमसार नजोगाए मानव प्राणीले भविष्यमा ठूलो क्षति भोग्नुपर्ने उहाँले दाबी गर्नुभयो । मानवीय गतिविधिले गर्दा सिमसारको क्षय बढी भएको शर्माले बताउनुभयो ।
नदीमा ढल व्यवसथापन गर्नु, रासायनिक मलको प्रयोग, अत्यधिक मात्रामा माछा मार्नु, मानव बस्ती विस्तार हुनु, मिचाहा प्रजातिका वनस्पति सिमसारमा बढ्नु, अन्य प्रयोजनको लागि सिमसार क्षेत्र पुरिनु, पानी सुकाउने गर्दा सिमसारको क्षय भएको छ । सिमसार क्षेत्रमा प्राकृतिक कारणले भन्दा मानवीय कारणले बढी असर परेको देखिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख गणेश तिवारी, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, माडी नगरपालिका मेयर ताराकुमारी काजी महतो लगायतको उपस्थिति रहेको थियो ।

























