चितवन विशेष

सविता भण्डारी (धिताल) मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन आरोपितले पाए सफाइ

Banner

प्रतिमा कुमाल
चितवन,माघ १९-

अभियोग दाबी नपुगेपछि सामाजिक सञ्जालमा भाइरल सविता भण्डारी (धिताल) मृत्यु घटनाका प्रतिवादी तीन जनाले सफाइ पाएका छन् । आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका मृतक भण्डारीका ससुरा, श्रीमान्, अमाजूले माघ ४ गते जिल्ला अदालत चितवनबाट सफाइ पाएका हुन् ।

मुद्दा दर्ता भएको एक वर्ष ८ महिनामा फैसला भएको हो । अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो । विसं २०७८ वैशाख ४ गते दिनको करिब ५ बजेतिर सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

मृत्यु हुनुभन्दा अघिल्लो दिन (वैशाख ३ गते) सविता र योगेन्द्रले सातौँ विवाह वर्षगाँठ मनाएका थिए । त्यसको भोलिपल्ट दुःखद घटना भएको थियो । घटना भएको नवौँ दिनमा सविताको माइतीतर्फका बुबा रामचन्द्र भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिनुभएको थियो ।

सवितालाई मानसिक, शारीरिक तनाव यातना र यौन हिंसा गरी मर्न बाध्य बनाएको भनी आत्महत्या दुरूत्साहनअन्र्तगत मुद्दा दर्ता भएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, ‘श्रीमान् योगेन्द्र धिताल, ससुरा रमेश धिताल र अमाजू भावना धितालले मानसिक र शारीरिक तनाव र यातना दिएको जाहेरी प¥यो । सँगै ससुराले यौन हिंसा गरेका कारण मर्न बाध्य भएको आरोप लागेको थियो ।’ आरोपित ससुराको भने २०७८ असोज ४ गते मृत्यु भइसकेको छ ।
यस घटना भएको ४२ औँ दिन अर्थात् २०७८ जेठ १४ गते भएको आदेशअनुसार श्रीमान् र ससुरालाई जनही एक लाख रुपैयाँ धरौटी माग भएको थियो । उनीहरु धरौटी राखेर तारेखमा छुटेका थिए । अमाजूलाई भने जेठ १९ गते २५ हजार रुपैयाँ धरौटी माग भएको र उनी पनि धरौटी राखेर छुटेको श्रेष्तेदार आचार्यले बताउनुभयो ।

आरोपितको बयानमा सविताको मृत्युमा आफूहरुको कुनै भूमिका नरहेको तीनैजनाले बताएका छन् । उनीहरुका अनुसार सविताले नियमित डिप्रेसनको औषधि खान्थिन् र चितवन मेडिकल कलेजमा उनको नियमित स्वास्थ्य जाँचसमेत हुँदै आएको थियो । सवितालाई कुनै प्रकारको मानसिक तनाव र शारीरिक यातना नदिएको बयानमा बताइएको थियो । यौन हिंसाको आरोप लागेका ससुरा रमेशको बयानमा छोरीजस्तै गरी ममता दिएको र आफू असक्त रहेकाले यौन हिंसा गर्न नसक्ने उल्लेख छ । अमाजू भावना धितालले बयानको क्रममा आफूमाथिको आरोप झूटो भएको बताएकी थिइन् ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा १८५ को उपदफा १ बमोजिमको कसुर अपराध गरेको भनी अभियोगपत्रमा उल्लेख छ । उनीहरुविरूद्ध पाँच वर्षसम्मको कैद सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरे पनि अन्ततः आरोपितहरुले अभियोगबाट सफाइ पाएका छन् । यो फैसलामा चित्त नबुझे उजुरीकर्ताले उच्च अदालत हेटौँडामा पूर्नआवेदन दिनसक्ने श्रेष्तेदार आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारवादी मुद्दा हो । सविताको परिवारले जाहेरी दिनुभयो । त्यसमा नेपाल सरकारले अनुसन्धान ग¥यो । यस फैसलाको पूर्ण पाठ तयार हुन बाँकी छ । यो तयार भएपछि हामीले सरकारी वकिललाई दिन्छौँ । त्यसमा चित्त नबुझे उच्च आदालत हेटौँडामा पुनरावेदन गर्नसक्नु हुन्छ ।’ पुनरावेदन फैसला भएको ७० दिन भित्र सविताका परिवारले गर्नुपर्ने आचार्यले जानकारी दिनुभयो ।

काठमाडौँ कोटेश्वरकी २८ वर्षीय सविता र चितवन भरतपुर महानगरपालिका–१९, शारदानगर बखानचोक घर भएका ३९ वर्षीय योगेन्द्र धितालबीच २०७१ साल वैशाख ३ गते विवाह भएको थियो । विवाहपछि श्रीमान्श्रीमती नै विदेश गएका थिए । उनीहरु केही वर्षअघि फर्किएका थिए । उनीहरुको एक सन्तान (छोरा) रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>