Breaking News
सौराहामा १४ करोड बढी लगानीको पर्यटकीय मार्गको शिलान्यास, पर्यटक बढ्ने आशा

चितवन, माघ १८-
सौराहा ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमुना पर्यटकीय मार्गको शिलान्यास भएको छ ।
नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण कार्य आयोजना अन्तर्गत पर्ने सो मार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले शिलान्यास गरेका हुन् ।
मार्गको उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइलक लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए ।
कुल १४ करोड २४ लाख रुपैयाँको लागतमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको प्रष्ट पार्दै नगरप्रमुख सापकोटाले विकासको काममा कसैले पनि अवरोध गर्न नहुने बताए ।
समग्र विकासमा पछाडि पारिएको पूर्वीचितवनको पूर्वाधार विकासका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेलको पहलमा सो आयोजना परेको उल्लेख गर्दै उनले भने, ‘सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ । हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ ।’
सौराहाको सौन्दर्य बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति सो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी÷अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उनले बताए । उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धबता व्यक्त गरे । सो आयोजनाको ठेक्का लोहनी–लोहनी एन्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीले पाएको हो । २०७९ मंसिर २८ गते कार्य आरम्भ भएको सो आयोजना २०८१ जेठ २८ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । सो कम्पनीलाई निर्माण सामग्रीको गुणस्तरदेखि समयमै काम सम्पन्न गर्न नगरप्रमुख सापकोटाले निर्देशन दिएका छन् ।
सौराहामा करिब ३० करोडको बजेट परेको भन्दै उनले नगर गौरवको आयोजनाअन्र्तगत बुढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कुल तीन करोड ९५ लाख रुपैयाँको लागतमा सिग्नेचर पुलको निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
आफ्नो पाँचवर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ थियो । शिलान्यास कार्यक्रममा रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि पाइलापाइलामा सहजीकरण गर्दै पूर्वीचितवनको विकासका सारथी बनेका डा. विश्व पौडेलप्रति आभार प्रकट गरे । डा. पौडेलकै पहलमा राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि खेलेको भूमिका उदाहरणीय रहेको बताए । रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकोले सौराहालाई नमुना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उनले उल्लेख गरे ।
आयोजना निर्माण पहल समितिका संयोजक बलराम दाहालले विकासका क्रममा हुने विनास सहनुपर्ने भएकाले आयोजनाअन्तर्गत विनास भए पनि लाभान्वित हुने दिनलाई हेरेर सहनुपर्ने बताए । त्यसमा आयोजना प्रभावित बासिन्दा र व्यवसायीले विकासका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गरिसकेकाले निर्माणका काममा कोहीबाट कुनै प्रकारको अवरोध सिर्जना नहुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य एवम् पर्यटन व्यवसायी रामकुमार अर्याल, नेकपा (एमाले) रत्ननगर–६ वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटा, नेकपा (माओवादी केन्द्र)का नगर कमिटीका वरिष्ठ उपाध्यक्ष बासु चापागाईंले सौराहाको मुहान फेर्ने अभियानमा सबैको साथ र सहयोग रहने बताए । सो आयोजनाबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि सहयोग पुग्ने हुँदा जैविक विविधतालाई ध्यानमा राख्दै निर्माण अघि बढाउन उनीहरुले आग्रह गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, न्यायिक समितिका सदस्य देवेन्द्र भुजेल, रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर–४ का वडाध्यक्ष रामकुमार महतो, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–८ का वडाध्यक्ष कृष्ण महतोलगायतको उपस्थिति रहेको थियो । रत्ननगर–६ का सचिव रमेश ताम्राकारले कार्यक्रम सञ्चालन गरेका थिए ।


























