Breaking News

चितवन कारागारमा क्षमताभन्दा झण्डै तीन गुना बढी कैदीबन्दी, मानवअधिकारवादी चिन्तित

Banner

निरुता विक

चितवन, माघ १५-

चितवन कारागारमा क्षमता भन्दा झण्डै तीन गुना बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या भएको छ ।

कारागारमा २८० जना कैदीबन्दी क्षमता भए पनि अहिले ७९१ जना कैदीबन्दी राखिएकोेले व्यवस्थापनमा समस्या भएको हो । कारागारमा खाने, बस्ने देखि सरसफाइ सम्मका आधारभूत मानवअधिकारको प्रत्याभूतिमा नै समस्या देखिएको छ । २८० क्षमताको कारागारमा २०७ जना जबरजस्ती करणीका मात्र मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी रहेको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले नारायणी अनलाइनलाई बताए ।

आचार्यले कुल ७९१ जना कैदीबन्दी मध्ये जबरजस्ती करणीको मात्र २०७ कैदीबन्दी रहेको बताए । उनले भने,‘जबरजस्ती करणी सम्बन्धि मुद्दाका कैदी र थुनुवाका कारण कारागारमा कैदी थुनुवाको संख्या धेरै भएको हो ।’

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने हुँदा कैदीबन्दीको संख्या दिनहुँ बढ्दै गएको आचार्यले बताए । विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी संख्यामा कैदीबन्दी ल्याइन्छ । उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो ।

कारागार प्रमु्ख आचार्यले ठाउँ साघुँरो हुँदा कैदीबन्दीलाई राख्नलाई कठिन भएको बताए । उनले भने, ‘ साघुँरो भए पनि जेनतेन मिलाएर राखिएको छ । प्रत्येक कैदीबन्दीले खानलाई दैनिक ७०० ग्राम चामल र खर्च बापत ८० रुपैयाँ पाउने गरेका छन् । मौसमअनुसार वार्षिक दुई जोर कपडा दिने गरिएको छ ।’

मानव अधिकारवादी विनोदखण्ड तिमिल्सिनाले कैदीबन्दीको व्यवस्थापन गर्ने दायित्व राज्यको भएकोले उनीहरुलाई सहज हुने गरी व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘ यो व्यवस्थापनको विषयमा सबै मानव अधिकारवादीले आवाज उठाउन जरुरी रहेको छ ।’ इन्सेकका चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले यसरी कारागार प्रशासनले सही ढंगबाट व्यवस्थापन गर्न नसक्दा कैदीबन्दी आधारभूत अधिकारबाट बञ्चित हुने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘कैदीबन्दीको पनि कारागारभित्र मानव अधिकार हुने भएकोले त्यसलाई हनन हुन दिनु हुँदैन ।’

कुन मुद्दाका कति कैदीबन्दी छन् ?

कारागार प्रमुख आचार्यका अनुसार कारागारमा अहिले ७३८ पुरुष र ५३ जना महिला र बन्दीसंँग चार आश्रित बालबालिका रहेका छन् । कैदीबन्दी मध्ये कैदी पुरुष ३६२, थुनुवा पुरुष ३७६, कैदी महिला २६ र थुनुवा महिला २७ रहेको आचार्यले बताए । कारागारमा सजाय भोगिरहेका मध्ये दोस्रो धेरै लागूऔषध सम्बन्धी मुद्दामा सजाय खेपिरहेका कैदी–थुनुवाको संख्या पनि उल्लेख्य छ । आज (आइतबार) सम्ममा लागुऔषध मुद्दामा सजाय खेपिरहेका १५१ पुरुष र १५ महिला गरी १६६ जना रहेको कार्यालयले जनाएको छ ।

उनले भने, ‘लागुऔषध मुद्दामा महिला कैदीबन्दी धेरै रहेका छन् । कुल १६६ लागुऔषध मुद्दाका कैदीबन्दी मध्ये लागुऔषद मुद्दाकै १३ जना कैदी महिला छन् भने थुनुवा ९ जना महिला रहेको उनले बताए । यस्तै कार्यालयको तथ्याङ्क अनुसार २१ ज्यान मार्ने उद्योग मुद्दाका कैदीबन्दी, ३९ डाका मुद्दाका, १५ मानव बेचविखन, ८ अपहरण, ५४ चोरी, १३ सार्वजनिक अपराध, ३ हातहतियार, २ काठचोरी, ७ आत्महत्या दुरुत्साहन, २१ जना ठगी बैँकिङ कसुरका रहेका छन् । एक गौबध, ७ खोटा चलन, ११ बहुविवाह, ५८ सवारी ज्यान, एक दूरसञ्चार हानी नोक्सानी र एक अवैध मदिरा कारोबार मुद्दाका कैदीबन्दी रहेका छन् । कर्तव्य ज्यान मुद्दाका ७५ पुरुष र १८ महिला वन्यजन्तु चोरी सिकारीका एक जना साथै गैँडाको मात्र ६१ पुरुष र १ महिला, गैँडाको खाग बिक्री गर्ने ६२ जना, सवारी ज्यान ५६ पुरुष र २ महिला रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>