Breaking News
चितवन मेघौलीका स्थानीय भन्छन्: निकुञ्जका जनावरले गर्दा दुःख र तनाव बेहोर्नु परेको छ

पूजा ढकाल
चितवन, माघ १४–
मेघौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले चितवन राष्ट्रिय निकुञ्जका जनावरले साह्ै दुःख दिने गरेको बताएका छन् ।
आज पश्चिम चितवनका पत्रकारसँग अन्तरक्रिया गर्दै मेघौलीको पर्यटन क्षेत्र तथा त्यहाँका वन्यजन्त र मानव बीच दैनिक द्वन्द्व हुने गरेको गुनासो गरेका हुन् ।
अन्तरक्रियामा मेघौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले सौराहा भन्दा पहिले विसं २०१७ सालदेखि मेघौली पर्यटनको रुपमा विकास भएको जानकारी दिए । उनका अनुसार बेलायतकी महारानी एलिजाबेथसमेत यस क्षेत्रमा आएर एक महिना शिकार खेलेकी थिइन् । उक्त समयदेखि पछिल्ला केही वर्षसम्म मेघौली पर्यटनको हिसाबले राम्रो चलेको बताउँदै उनी भन्छन्, ‘बिस्तारै बिस्तारै राम्रो भएर झलमल बलेको मेघौली आज एक्कासी निबेको बत्ती जस्तो भएको छ ।’ उनले दिएको जानकारी अनुसार मेघौलीको वनमा अहिले राष्ट्रिय निकुञ्जमा भन्दा धेरै जङगली जनावरहरु रहेका छन् । जसको कारण स्थानीयले धेरै दुःख खेप्नु परेको छ । उक्त जनावरका कारण बर्सेनि स्थानीयले ज्यान गुमाउनु परेको तथा बालीमा पनि धेरै क्षति भएको उनले जानकारी दिए । उनी भन्छन्, ‘ वन्यजन्तुले गरेको क्षतिप्रति निकुञ्जले केही राहात दिने गरेको छ । तर, राहात लिने प्रकिया भने निकै कठिन र झन्झट छ । त्यति मात्रै नभएर केही व्यक्तिको जमिन नदी कटानका कारण बगरमा परिणत भएका छन् ।’
मेघौंली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतोले मेघौली पर्यटनको हिसाबले अति सम्भावना बोकेको क्षेत्र भए पनि आझेलमा पर्दै गएको बताए । उनका अनुसार विश्व पर्यटनको पुस्तकमा समेत सौराहाको भन्दा पहिले मेघौलीको नाम आएको हो । तर, पछिल्लो समय टाइगर टप तथा मेघौली एयरपोर्ट सञ्चालमा नआएकै कारण मेघौलीको पर्यटनसँगै अन्य क्षेत्रमा पनि पछि परेको उनको भनाइ छ । त्यस्तै कार्यक्रममा मेघौलीका नौँ समुदायिक वन मध्ये राधा कृष्ण समुदायिक वनका अध्यक्ष वेदनिधी सुवेदीले सौराहामा भन्दा यहाँ धेरै वन्यजन्तु भएकोले द्वन्द्व न्यूनीकरण गर्न तटबन्ध तथा आरसीसी वाल लगाउनु पर्ने बताए । सामुदायिक वन उपभोक्ता सतितिको हलमा भएको पत्रकारको भेलामा होट्ल, होम स्टेलाई पनि बोलाको भए उनीहरुको जनगुनासो तथा समस्या अगाडि आउने उनको भनाइ छ । त्यस्तै उक्त कार्यक्रममा पश्चिम चितवन पत्रकार मञ्चको नयाँ कार्य समितिलाई समेत स्वागत गरिएको थियो ।


























