मनोरञ्जन

दिनमा सय करोड कमाउने पहिलो हिन्दी बलिउड फिल्म बनेको ‘पठान’ ले दोस्रो दिन कति कमायो ?

Banner

काठमाडौं, माघ १३-

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। बलिउड फिल्मले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको हो।

बुधबार रिलिज भएको पठानले बक्स अफिसमा कीर्तिमान ओपनिङ गरेको थियो। यो क्रम दोस्रो दिन पनि जारी छ। भारतीय मिडिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन करिब ७० करोड कमाइ गरेको छ।

फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो। फिल्मको कलेक्सन दुई दिनमा करिब १२७ करोड पुगेको छ।

‘पठान’ ले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ५३ करोड ९५ लाख भारू कमाएको थियो।

कलेक्सनको तुलनामा पठान अहिले साउथ फिल्म केजीएफ २ र आरआरआरभन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार सार्वजनिक बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।

तर बिहिबार फिल्मले बिदाको भरपुर फाइदा उठायो। बक्सअफिस इन्डियाको रिपोर्ट अनुसार फिल्मले दोस्रो दिन भारतमा ७० करोड कलेक्सन गरेको छ।

तरूण आदर्शका अनुसार दोस्रो दिन तीन वटा राष्ट्रिय चेन आइनक्स, सिनेपोलिस र पीभीआरबाट मात्रै पठानले करिब ३१।६० करोड कमाएको छ। पहिलो दिन यी तीन चेनबाट २७।०८ करोड कमाई भएको थियो।

यस्तै अर्का समीक्षक रमेश बालाले पहिलो दिन बक्स अफिसमा सय करोड कमाउने चलचित्रको सूची सार्वजनिक गरेका छन्।

रमेश बालाका अनुसार पहिलो दिन विश्वभर १०० करोड कमाउने भारतीय फिल्मः बाहुबली २, २।०, कबाली, साहो, आरआरआर, केजीएफ २ र पठान। छन्।

यसरी हेर्दा यो लिस्टमा अधिकांश फिल्म साउथका छन्। तर पठान एक मात्र बलिउड फिल्म हो जसले १०० करोड भन्दा बढी ओपनिङ कमाई गरेको छ।

पठानको गतिलाई हेर्दा छिट्टै २०० करोड क्लबमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ। यसबाहेक, सप्ताहन्तको अन्त्यसम्म, यसले ४०० करोडमा इन्ट्री लिन सक्छ। आगामी दिनहरुका लागि अग्रिम बुकिङ पनि धमाधम भइरहेकाले फिल्मले धेरै व्यापार गर्ने आँकलन गरिएको छ।

‘पठान’ प्रदर्शन हुनुअघि बहिष्कार गर्न माग उठिरहेको थियो। तर फिल्म प्रदर्शन भएपछि दर्शकको राम्रो साथ पाइरहेको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ।

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>