Breaking News

नारायणी किनारमा कोटीहोमको उद्घाटन गर्दै पाण्डेले भनेः देश दानवको नङ्ग्राबाट मुक्त होस्

Banner

प्रतिमा कुमाल

चितवन, माघ १२

सहरी विकासमन्त्री विक्रम पाण्डेले देश दानवहरुको नङ्ग्राबाट मुक्त होस भन्ने पुकार गरेका छन् ।

आज (बिहीबार) बाट नाराययणगढको नारायणी नदी किनारमा सुरुभएको गायत्री कोटिहोम महायज्ञलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘यो देश ऋषि मुनीले तपस्या गर्ने तपो भूमि हो । पूर्ववत रुपमा सधै शान्ति र सुव्यवस्थित होस् । दानवहरुको नङ्ग्रा, पञ्जाबाट मुक्त होस् भनी भगवानलाई पुकार्छु ।’

मन्त्री पाण्डेले यज्ञ हिन्दूहरुको लागि मात्र नगरिएको बताए । ‘यो यज्ञ धर्म, लिङ्गसँग केन्द्रित छैन । विश्व शान्ति र मानव जातिको लागि गरिएको हो । यज्ञ हिन्दूहरुको लागि मात्र गरिएको होइन’, उनले भने । सबै धर्मका व्यक्तिहरुले यहाँ आएर पुण्य कमाउने पाण्डेले विश्वास व्यक्त गरे ।

श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु भएको हो ।

बसन्त पञ्चमीको अवसर पारेर उद्घाटन गरिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । महायज्ञको उद्घाटनअघि बजार क्षेत्र परिक्रमा गर्नेगरी कलश यात्रा निकालिएको थियो ।

महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । ‘हामीले दातालाई यति दान गर्नुस् भन्दैनौँ । स्वेच्छाले दान गर्न सक्नुहुन्छ । धेरै दान गर्नेलाई ठूलो सम्मान र थोरै गर्नेलाई सानो सम्मान भन्ने हुँदैन । दातालाई वर्गिकरण गर्दैनौँ’, उनले भने । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले बताए ।
महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञमा दैनिक छ क्विन्टल भन्दा बढी चरु खपत हुने प्रमुख वाचक पाण्डेय बताउँछन् । जौ, तिल, चामल, घ्यु लगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन सुरु भएको उनले बताए ।

महायज्ञमा कर्ता बस्नलाई कुनै जातीय विभेद नगरिने उनले बताए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको उनको भनाइ छ । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनीतिक व्यक्ति सहभागी हुने छन् ।

सनातन संस्कृति–गोवंश संरक्षणबारे चिन्तन, मन्थनसहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कवि÷कलाकारहरूद्वारा कवितावाचन, भजन, सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालीग्राम तथा शिवलिङ्गको सेवा–पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति लगायत कार्यक्रम गरिने भएको छ ।

विपन्न तथा अशक्तहरूका लागि निःशुल्क सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्देश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको हो । नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज महायज्ञको प्रमुख संरक्षक रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>