Breaking News

चितवनका युवा व्यवसायी भन्छन्ः सरकारले व्यवसायीलाई आगोमा जल्नुपर्ने बनाएको छ

Banner

चितवन, माघ १२-

नयाँ बानेश्वरको सांसद भवन अगाडि आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै चितवनका युवा व्यवसायीहरुले सांकेतिक खबरदारी गरेका छन् ।

युवाहरूको स्वस्फूर्त आह्वानबाट बुधबार चौबिसकोठीमा भेला भई आचार्यको न्यायका लागि खबरदारी गरेका हुन् ।
व्यवसायीहरूले मौन धारण गर्दै आचार्यलाई दीप प्रज्वलन गरी श्रद्धाञ्जलीसमेत दिएका थिए । स्वः आचार्यले मंगलबार आत्मदाह गरेका थिए । खबरदारी तथा दीपप्रज्वलन कार्यक्रममा व्यवसायी कलपना पौडेलले स्वः आचार्यको जस्तै समस्यामा धेरै युवा व्यवसायी रहेको बताए । उनले भनिन्, ‘उहाँले खप्न नसकेर आगो लगाएर आत्मदाह गर्नुभयो तर यहाँ भित्र भित्रै जल्नेहरु पनि छन् ।’

पौडेलले सरकारले स्वः आचार्यको जिम्मेवारी लिनुपर्नेमा जोड दिइन् । ‘उनले त्यसै आत्महत्या गरेका होइनन् । राज्य प्रणाली र बैंकहरु यसमा जिम्मेवार छन् । यसमा सरकार जिम्मेवार हुनु पर्छ,’ उनले भनिन् । युवा ब्यवसायी मेघराज पौडेलले राज्यलाई झक्झकाउने बेला आएको जीकिर गरे । उनले प्रश्न गरिन् ‘निराकार पाण्डे हाम फालेर मर्दै गर्दा विदेश जान बाध्य कसले बनायो ? प्रेम आचार्य सांसद भवन अगाडि जलेर मर्न बाध्य कसले गरायो ? सबैले सोचेर सरकारलाई झक्झकाउन आवश्यक छ ।’ कर लिने सरकारले देशबासी व्यवसायीको ज्यानको सुरक्षा गर्न नसकेको प्रति पौडेलले दुःख व्यक्त गरिन् ।

बैँकहरुले सहुलियतको नाममा व्यवसायीलाई शिकार बनाइरहेको पौडेलले आरोप समेत लगाइन् । उनले भनिन्, ‘७ प्रतिशतमा लिएको ऋण बैंकले १२ देखि १४ सम्म पु¥याउँछ । त्यही थेग्न नसकेर उनले आफूलाई आगोमा जलाए ।’

स्वः आचार्यको आत्मदाह राज्यबाट गरिएको अपराध रहेको देवेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘युवाहरुले बगाएका पसिनाले सरकारले तलब भत्ता खादै आएको छ । यही सरकारले आगोमा जिउदै जल्नुपर्ने अवस्था सिर्जना गरेको छ । यो राज्यले नै गरेको अपराध हो ।’

सन्देश वगालेले देशको उद्योग तथा व्यसायको अवस्था हेरी बैँकहरु अगाडि बढेको भए आज स्वः आचार्य सकुसल हुने धारणा राखे । आचार्यको जस्तो अवस्था अन्य युवाले भोग्न नपरोस् भनेर उद्देश्यले कार्यक्रम गरिएको दिपप्रज्वलन कार्यक्रमका संयोजक अन्जन दवाडीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>