चितवन विशेष

भारतबाट कुखुराका चल्ला आउने क्रम रोकिएन

Banner

चितवन,माघ १०-

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट अवैध रुपमा आयात हुने पोल्ट्रिजन्य वस्तुलाई रोक्न निर्देशन दिए पनि कुखुराका चल्ला आउने क्रम रोकिएको छैन । भारतीय सीमा नाकाबाट कुखुराका चल्ला भित्रिएको व्यवसायीले गुनासो गरेपछि पुस २८ गते चितवन आएका गृहमन्त्री लामिछानेले आइजिपी धिरज प्रताप सिंहलाई फोन गरेर तत्काल रोक्न निर्देशन दिएका थिए । तर, अझैपनि पर्सा, महोत्तरी लगायतका सीमा नाकाबाट कुखुराका चल्ला नेपाल भित्रने गरेको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेललेले जानकारी दिए । ‘दुई चार दिन भयो । किसानहरूले पर्सा जिल्लाको बिन्दाबासिनि नाका र महोत्तरीको सोम्सी नाकाबाट चल्ला नेपाल भित्रिएको हामीलाई भन्नुभएको छ,’ पौडेलले भने, ‘यद्यपि मन्त्रीको निर्देशनपछि पहिलेको तुलनामा कम भित्रिएको हामीलाई सूचना आएको छ ।’ पौडेलका अनुसार, केही साता अघिसम्म हप्तामा ६ लाखको हाराहारीमा भारतबाट अवैध चल्ला आउने गर्दथ्यो । जसको प्रत्यक्ष मारमा नेपालका व्यवसायी छन् । मन्त्रीको निर्देशन पछि बिस्तारै भारतबाट पोलट्रीजन्य वस्तुको आयात कम हुनेमा पौडेलको विश्वास छ । ‘विगतमा कुखुरा मात्रै हप्तामा ५० गाडीसम्म आउने गर्दथ्यो,’उनले भने, ‘अहिले धेरै नै कम भएको छ । अझै बोडर टाइट होला भन्ने आशा गरेका छौँ ।’ नेपालमा नवलपरासी, सर्लाही, पर्सा, सिराहा, बाँके जिल्लाका नाकाबाट अवैध कुखुरा भित्रने गर्दछ ।

तीन बर्ष अघि सरकारले पोलट्रीमा आत्मनिर्भर रहेको घोषणा गरेको थियो। तर, यहाँका व्यवसायीले विगत ८ वर्षदेखि पोलट्रीमा आत्मनिर्भर रहेको बताउँदै आएका थिए । हाल नेपालमा पोलट्री क्षेत्रमा एक सय ५० अर्ब हाराहारीमा लगानी रहेको बताइन्छ । नेपालको मागलाई धान्न सक्ने भएपनि भारतबाट भित्रँदा व्यवसाय नै धरापमा पर्दै गएको नेपाल पोलट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेल बताउँछन् । देशमा हप्तामा ४० लाख कुखुराका चल्ला आवश्यक छ । तर, उत्पादन भने हप्तामा ४५ लाख गर्ने क्षमता रहेको पोख्रेलले बताए । हाल नेपालमा ३७ लाखको हाराहारीमा कुखुराका चल्ला उत्पादन भइरहेका छन् । खुल्ला सीमाका कारण अवैध व्यापारलाई पूर्ण रुपमा रोक्न नसकिएको उनले बताए ।

पोलट्रीको ३० प्रतिशत हिंसा चितवनले ओगट्दै आएको छ । भारतबाट अवैध रुपमा चल्ला भित्रिएपछि यहाँका व्यवसायीले उत्पादन घटाउँदै लगेका हुन् । कुखुराको चल्लालाई व्यवसायीले यतिखेर २० रुपैयाँको हाराहारीमा बिक्री गर्दै आएका छन् । तर, उत्पादन लागत मूल्य ५५ रुपैयाँ पर्ने पोख्रेलले बताए । घाटा हुँदै गएपछि व्यवसाय समेत पलायन हुने अवस्थामा पुगेको ह्याचरी उद्योग संघले जनाएको छ । संघका अनुसार कोरोना भन्दा अगाडि ३ सय ४८ वटा ह्याचरी थिए । तर, अहिले २ सयको हाराहारीमा मात्र छन् ।

नेपाल पोलट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार कोभिड–१९पछि पोलट्री व्यवसाय ४० अर्ब रुपैयाँ बराबरको घाटामा छ । खुल्ला सीमाका कारण भारतबाट अवैध भित्रने अण्डा, चल्ला र मासुलाई रोक्न नसक्दा यहाँका व्यवसायी समस्यामा परेको उनी बताउँछन् । ‘व्यवसायीक रुपमा बोयलर पाल्नेलाई घाटा छ । चल्लाको त कुरा नगरौँ। ५५ रुपैयाँमा उत्पादन गरेर १५ रुपैयाँमा बेच्न परेको छ। दाना उद्योग सुरक्षित थियो । यसको पनि बिक्री ह्वात्तै घटेको छ,’ उनले भने ‘हाम्रो आन्तरिक नीति र खुल्ला सीमाका कारण समस्यामा छौँ ।’ पोलट्री व्यवसायीको समाधानका लागि छुट्टै ऐन ल्याउन उनले माग गरेका छन् । भारतबाट आउने पोलट्री जन्य वस्तु रोक्न सके पहिलेकै अवस्थामा उत्पादन गर्न सक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>