चितवन विशेष
नारायणी टुडे मासिकको अनलाइन संस्करण सुरु

चितवन,माघ ९-
चितवनबाट प्रकाशित हुने नारायणी टुडे मासिक पत्रिकाको अनलाइन संस्करण सुरु भएको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रम मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अनलाइन संस्करणको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री थपलियाले चितवनमा स्थापित पत्रिकाले अनलाइन संस्करण मार्फत पत्रकारिता जगतमा थप टेवा पु¥याउने बताउनुभयो । ‘विभिन्न आरोह अवरोह पारेर गरेर पत्रिका २३ वर्षसम्म निरन्तर प्रकाशित भएको छ’, उहाँले भन्नुभयो, ‘अनलाइन संस्करणले यहाँका खबर विश्वभर पु¥याउन सहयोग गर्नेछ ।’
विभिन्न अभाव र संकट झेल्दै यतिधेरै वर्ष निरन्तर पत्रिका प्रकाशन हुनु सामान्य कुरा नभएको भन्दै उहाँले अनलाइन संस्करणले जनताका पक्षमा निरन्तर कलम चलाउन थप उर्जा प्रदान हुने बताउनुभयो । ‘मिडिया सत्य तथ्यको पक्षमा लागेर काम गर्नुपर्छ, जनता र राष्ट्रप्रति जवाफदेहि भएर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । प्रदेश सरकार सधैँ पत्रकारको पक्षमा रहने भन्दै मन्त्री थपलियाले पत्रकारको पेसालाई मर्यादित र व्यवस्थित बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले संघीयतालाई संस्थागत गर्न संचार जगतले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीयतालाई थप व्यवस्थित र मजबुत बनाउँदै लैजानुपर्छ’, उहाँले भन्नुभयो, ‘सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउन संघीयाताले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सबैको मेहनतबाट नै यो व्यवस्था स्थापित भएको हो । सिंहदरबार र गाउँपालिकाबीचको दुरी कम गर्न प्रदेशले भूमिका निर्वाह गर्छ । यसले दुवै तहलाई समन्वय गरेर काम गर्छ । जसले जनताका काम गर्न सहज हुन्छ’, मन्त्री थपलियाले भन्नुभयो ।
उहाँले संविधानले व्यवस्था गरे बमोजिम प्रदेश स्थापना भएको भन्दै यसलाई खर्च कटोती गरेर जनताको सेवा सुसासन र आर्थिक संमृद्धिको पक्षमा प्रयोग गरिने बताउनुभयो । बागमती प्रदेश सरकारले मन्त्रालय घटाएर ११ वटा मात्रै बनाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
विंस २०५६ सालमा स्थापना भएको नारायणी टुडे मासिक पत्रिकाले निरन्तर जनजीविकाका सवालहरुलाई उठाउँदै आइरहेको प्रधान सम्पादक वीरेन्द्रमणि पौडेलले जानकारी दिनुभयो । उहाँले अनलाइन संस्करणको सुरुवातसँगै जिल्ला बाहिर र विदेशमा रहनुभएका पाठकहरुले पनि यस पत्रिकाका खबरहरु पढ्नसक्ने बताउनुभयो । पत्रिकाले आगामी दिनमा थप परिमार्जित र व्यवस्थित गर्दै पत्रिका प्रकाशनलाई निरन्तरता दिने पौडेले बताउनुभयो ।
तस्विरः कोमलचन्द्र भगत
























