Breaking News
भरतपुरमा धर्मचोक सडक कालोपत्रेको जस लिन मन्त्रीदेखि मेयरसम्मको होडबाजी, ढलको काम अझै अलपत्र

प्रतिमा कुमाल
चितवन, माघ ७–
भरतपुर महानगरपालिका –४ बैकुण्ठ चोकदेखि धर्मचोकसम्म सडक निर्माणको जस लिन जनप्रतिनिधिहरुको होड चले पनि काम अझै बाँकी रहेको छ ।
साढे चार वर्षसम्म अलपत्र परेको यस सडक खण्डको ५०० मिटर बाटो कालोपत्रे भए पनि ढल व्यवस्थापन हुन नसकेको हो । चितवन–२ बाट प्रतिनिधिसभाको संसद निर्वाचित भएसँगै गृहमन्त्री रवि लामिछाने सो सडकमा निर्माण कम्पनीलाईसँगै राखेर छिटो काम गर्न दबाब दिएका थिए भने प्रदेश सांसद उत्तम जोशी पनि सडक निरीक्षणका लागि पुगेका थिए । अर्काेतर्फ भरतपुरकी मेयर रेनु दाहालले पनि पटकपटक सडक निर्माणका लागि निर्माण कम्पनीलाई दबाब दिएकी थिइन् । माघ ३ गते चितवन आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि निर्माणाधीन धर्मचोक सडकमा पुगेर समयमा काम सक्न निर्देशन दिएका थिए । सडक पिचको काम भएपछि आफूले गर्दा भएको भनेर स्थानीयको अगाडि सबैले जस लिन खोजेको पनि देखिन्छ । सडकमा गएर दबाब दिने जनप्रतिनिधिहरुको प्रतिस्पर्धानै चले पनि सडक निर्माणको काम भने २० प्रतिशत अझै बाँकी छ ।
बाँकी रहेको काम सक्न अर्को पाँच वर्ष लाग्ने हो कि भन्ने चिन्ताले सताइरहेको स्थानीय भानुभक्त सापकोटाले बताए । ‘दुई वर्षमा सक्नुपर्ने काम साढे चार वर्षसम्म लाग्यो । चौतर्फी दबाबका कारण कालोपत्रे भए पनि अझै ढलको काम बाँकी नै छ । एक नम्बर पुलले पनि पूर्णता पाएको छैन । रहेको रहल–पहल काम सक्न अझै कति वर्ष लाग्ने हो कुन्नी ?’ उनले प्रश्न गरे ।
खबरदारी र दबाबका कारण ८० प्रतिशत काम गराउन सफल भएको उनको भनाइ छ । उनले भने, ‘चौतर्फी दबाब र गुनासो र खबरदारीका कारण जनप्रतिनिधिलाई लाज भयो । त्यही लाज ढाक्न उनीहरुले काम गरे । ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रे भएकोले धूलोबाट बचिएको छ ।’
जनप्रतिनिधिको चासो यस सडकमा पहिलेनै परेको भए दुई जनाले अकालमा ज्यान गुमाउन नपर्ने अर्की स्थानीय बिन्दा अर्याल बताउँछिन् । उनले भने, ‘ पाँच फिट भन्दा गहिरो खनिएका नालामा दुई जना परे । उनीहरुको त्यही ज्यान गयो । कतिलाई चोटपटक समेत लाग्यो । घर पालुवा जनावारहरु पनि परे । सुरक्षाका मापदण्ड पालना गरी समयमै सडक निर्माण भएको भए दुई परिवारले सदस्य गुमाउन नपर्ने उनले गुनासो गरिन् ।’
निर्माण ठेक्का लिएको रमण शिव शक्ति जेभीका परियोजना प्रबन्धक रञ्जन ठाकुरले ढलको निर्माणको कामका लागि अझै केही समय लाग्ने जीकिर गरे । उनले भने, ‘सडकमा लाइन लगाउने, ढल मर्मत गर्ने, ढकनी लगाउनेलगायतको काम रहेको छ । चैतसम्म हाम्रो म्याद छ । अन्य स्थानमा पनि हाम्रो रहलपहल काम रहेकोले तीलाई सक्दै आउदा चैतसम्म यस सडकले पूर्णता पाउँछ ।’
करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिव शक्ति जेभीसँग यसको सम्झौंता गरेको थियो । सम्झौता अनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । तीन पटकसम्म म्याद थप भएको यस बाटो निर्माण कम्पनीले नेपाल सरकारबाट २०७९ साल चैत २५ गतेसम्मको म्याद पाएको छ ।
यो सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको छ । जसका लागि सरकारले ९९ करोड ९७ लाख चार हजार ९०९ दशमलब ५२ रुपैयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक र कचपचे चोकसम्मको १० मिटर चौडाइको यस बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको छ । अहिलेसम्म ठेक्का रकम मध्ये ७५ प्रतिशत रकम भुक्तानी भइसकेको जेभीले जानकारी दिएको छ ।

























