एथलेटिक्स

भरतपुर महानगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु, उपप्रमुख अधिकारीले गरे उद्घाटन

Banner

चितवन, माघ ६–

भरतपुर महानगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । महानगरपालिकाको आयोजनामा भरतपुर–१८ स्थित गुञ्जनगर माध्यमिक विद्यालयका खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता ३ दिनसम्म चल्ने छ । महानगरका कुल ७६ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स विद्याका खेलहरु हुने छन् ।

प्रतियोगिताका शुक्रबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरे । उनले यस खालका प्रतियोगिताले नेपालका राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । उनले महानगरले खेलकुदलाई प्राथमिकता राख्दै आएकाले राष्ट्रिय खेलकुद परिषद्बाट समेत सम्मानित भएको भन्दै खेलकुदलाई सधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले खेलकुद मनोरञ्जनका लागि मात्र नभई स्वास्थ्यका लागि समेत भएकाले विद्यालयस्तरीय खेलकुदलाई अझै व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए ।

यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले विद्यालयतहबाट नै खेलकुदलाई जोड दिन सके नसर्ने रोगलगायतका रोगहरुबाट बच्न सकिने बताए । उनले राष्ट्रियस्तरका खेलाडीहरु यसरी नै विद्यालयबाट खेल्दै अघि बढेको भन्दै विद्यार्थीहरुलाई बच्चादेखि नै खेलकुदमा प्रोत्साहन गर्नुपर्ने बताए ।
त्यस्तै भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले अन्य देशहरुमा विद्यालयतहबाट नै विद्यार्थीहरुलाई खेलकुदप्रति प्रोत्साहन गर्ने भएकाले खेलकुदमा ती देशहरु अघि बढेको भन्दै यहाँ पनि त्यसैगरि खेलकुदलाई विद्यालयतहबाट नै प्राथमिकता दिनुपर्ने बताए । उनले विद्यालयमा पढ्ने काम मात्र नभई अतिरिक्त क्रियाकलाप स्वरुप खेलकुदलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

समुद्घाटन कार्यक्रम भरतपुर–१८ का वडा अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता उद्घाटन अघि प्रतियोगितामा सहभागि विद्यार्थीहरुले मार्चपास गरेका थिए । यस्तै गतवर्षका विजेता टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>