कृषि

भरतपुरको रामनगर चेक पोष्टबाट मापदण्ड विपरीत पशु ढुवानी गर्ने १२ सवारीसाधनलाई कारबाही

Banner

निरुता विक

चितवन, माघ ५-

चितवनमा मापदण्डविपरीत पशुपन्छी ढुवानी गर्ने १२ सवारीसाधन कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा १२ सवारीसाधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख शिरिश गौतमले जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०७९\८० को साउनमा एक, भदौमा तीन, असोजमा चार, कात्तिकमा एक, मङ्सिरमा एक, पुसमा दुईवटा सवारीसाधन कारबाहीमा परेको बताए ।

उनले क्वारेन्टाइन चेकपोष्टको बाटो भएर मात्र पैठारी गर्नुपर्ने नियम उल्लङ्घन गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने र यदि त्यस्ता वस्तुमा रोग लागेको पाइएमा दोब्बर सजाए हुन सक्ने बताए । मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको पुससम्ममा ४० हजार रुपैयाँ राजस्व संकलन गरिएको गौतमले जानकारी दिए । उनले भने, ‘पशुपन्छी ढुवानी गर्दा नाकमा डोरी लगाउने, चेकपोष्टमा दरपिट नगरी आउनु, क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, ठूला पशुहरु एकै ठाउँमा राखी ढुवानी गर्ने लगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ ।’ उनका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुनुहुँदैन । उनले चालु आवको हालसम्ममा स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँँदै यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपन्छीलाई चेकजाँच गर्ने अथवा क्वारेन्टाइनमा राख्ने बताए ।

चालु आर्थिक वर्षको पशुपन्छी ढुवानी

मासु प्रयोजनका लागि नवलपुर, नेपालगञ्ज कैलाली रुपन्देही, बारा, पर्सा, रौतहटबाट ल्याइएका पशुपन्छीहरुलाई रामनगर क्वारेनटाइन चेकपोष्टमा चेकजाँच गराई अन्य जिल्लामा पशुपन्छी आयत हुने गौतमले जानकारी दिए । कार्यालयको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चितवन र नवलपुरबाट ब्रोइलर कुखुरा एक लाख ४४ हजार २६१ गोटा, ६६ हजार ८३८ लेस कुखुरा अन्य जिल्लामा ढु्वानी भएका छन् । विशेष गरी चितवन र नवलपुरबाट चार लाख सात हजार ३२५ पेटी अण्डा निर्यात हुने गर्छन् । २८ हजार २७७ वटा राँगा भैसी, ३८ हजार ६८२ वटा पाडापाडी, खसीबोका, बाख्रा ६६ हजार ९०० गोटा ढुवानी भएका छन् । दुई लाख ७९ हजार ५०१ केजी माछा चितवन, नवलपरासी, बारा, कपिलवस्तु, रुपन्देहीबाट ढुवानी हुने गर्छ ।
यस्तै ब्रोइलर चल्ला ७४ लाख ८९ हजार ३२६ गोटा, लेस चल्ला छ लाख १२ हजार ६१०, दूध प्रयोजनका लागि दुहुनो गाई १८१, दुहुनो भैँसी ४१९, माछाको भुरा एक लाख २५ हजार ६४२ गोटा चितवन र नवलपुरबाट मात्र रामनगर क्वारेनटाइन चेकपोष्टमा चेकजाँच गराई अन्य जिल्लामा आयत भएको छ । कुखुराको मासु एक लाख ३३ हजार ८३९ केजी चितवन, नवलपुर र नेपालगञ्जबाट अन्य जिल्लामा लगिन्छ । खसीको मासु १८ हजार २९१ केजीे, राँगाको मासु ४७ हजार ७२४ केजी, बङगुर दुई हजार ७७४ केजी मासु ढुवानी हुने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>