चितवन विशेष
निसन्तापनको समस्या भोगेका दम्पतिको विश्वास जित्दै चितवनको शिशु फर्टिलिटी क्लिनिक

चितवन, माघ ४–
अस्वस्थ खानपान र वातावरणका कारण दम्पतिमा निसन्तानपनको समस्या बढ्दै गएको छ । निसन्तानपन महिला वा पुरुष दुवैमा हुने समस्या हो । विवाहपछि आमा बुबा बन्ने चाहना बोकेका दम्पतिलाई निसन्तापनको समस्याले पिडा दिने गरेको छ । उपचारपछि यो समस्याको सहजै समाधान गर्न सकिन्छ । दम्पतिमा आउन सक्ने निसन्तापनको उपचारको लागि चितवनको भरतपुर महानगरपालिका–१० चौविसकोठीमा शिशु फर्टिलिटी क्लिनिक सञ्चालन गरिएको छ ।
क्लिनिकले स्थापनाको एक वर्षमा नै निसन्तापनको समस्या भोगेका दम्पतिको विश्वास जितेको छ । यस क्लिनिकलबाट एक वर्षको अवधिमा ३०० भन्दा बढी दम्पतिले सेवा लिएका छन् । निसन्तापनको उपचारको लागि काठमाडौँ जानुपर्ने र धेरै पटक फलोअप गर्दा विरामीको धेरै खर्च लाग्ने भएकाले भरतपुरबाट नै सेवा दिन थालिएको शिशु फर्टिलिटी क्लिनिककी सिईओ सविना बजगाईले बताइन् ।
‘यो सुविधा चितवनबाटै दिनुपर्छ । चितवनबाट सेवा दिँदा आसपासका धेरै जिल्लाबाट पनि विरामीलाई आउन सहज हुन्छ भन्ने हाम्रो सोँच हो’, उनले भनिन्, ‘हामीसँग गोल्ड मेडलिस्ट डाक्टरहरु हुनुहुन्छ । वरिष्ठ प्रजनन् विशेषज्ञ डा सुमी मुनंकर्मी हरेक महिनाको दुई पटक भरतपुर आउनुहुन्छ । उहाँकै नेतृत्वमा बनेको टिमले विरामीलाई सेवा दिने गरेका छौँ ।’
एक वर्षको अवधिमा यहाँबाट सेवा लिएका १० दम्पतिले बच्चा जन्माइसकेको उनले बताइन् । त्यस्तै ३० भन्दा बढी महिला गर्भवति भएको उनको भनाइ छ । ‘मुख्य कुरा दम्पतिमा निसन्तानपनको समस्या भए÷नभएको हामीले पत्ता लगाउँछौँ । हाम्रो एक्सपर्ट टिमले विरामीको समस्या पत्ता लगाउँछ । त्यसपछि मेडिकल उपचारबाटै समस्या हल हुन्छ कि त्यो हेर्छौँ । त्यो भएन भने मात्रै आईयुआई पद्धतिबाट उपचार गर्छौँ’, उनले भनिन् ।
कतिपय दम्पतिको समस्या औषधी सेवन गरेपछि हल पनि हुने गर्छ । महिनावारी गडबडी, हर्मोन परिवर्तन, थाइराइड र शारिरीक परिवतर्नका कारण बच्चा जन्माउन नसकेको अवस्थामा औषधी खाएरै पनि गर्भधारण गर्न सकिने उनको भनाइ छ । गर्भवती भएका ३० जनामध्ये अधिकांश महिला औषधी सेवन गरेर नै गर्भवती भएको उनले बताइन् ।
पुरुषको वीर्यमा शुक्रकिटको संख्या कम भएको अवस्थामा महिलाको पाठेघरमा डिम्बसँग मिलन हुने सम्भावना कम हुन्छ । त्यस्तो अवस्थामा पुरुषको वीर्य निकालेर कृत्रिम तरिकाले महिलाको पाठेघरमा राखिन्छ । ‘वीर्यलाई केमिकल्लि प्रोसेस गरेर उत्कृष्ट किसिमले महिलाको पाठेघरमा राख्ने प्रक्रियालाई आईयुआई भन्निछ । त्यसो गर्दा पनि भएन भने अन्तिम उपाय भनेका आईभीएफ प्रक्रिया हो’, उनले भनिन् ।
आईभीएफ प्रक्रिया भनेको टेस्टट्यु मार्फत बच्चा जन्माउने माध्यम हो । ‘यस प्रक्रियामा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई झिकेर मिलन गराएर ल्याबमा राखिन्छ । त्यसको ३ देखि ५ दिनपछि त्यसलाई ल्याबबाट झिकेर पुनः महिलाको पाठेघरमा राखिन्छ । त्यसलाई नै आईभिएफ भनिएको हो’, उनले भनिन् ।
सामान्य उपचारबाट पनि सम्भव नभएकालाई मात्रै आइभिएफ गर्न सुझाव दिने गरिएको शिशु फर्टिलिटी क्लिनिककी प्रबन्ध निर्देशक सुशिला ढकालले बताइन् । ‘औषधी सेवन गरिरहेका महिलामा गर्भ बस्न दुई महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । यस पद्धतिमा महिलाले धैर्यता भने गर्न सक्नुपर्छ । साथै क्लिनिकप्रति विश्वास राख्न सक्यो भने अधिकांश केश सफल भएका पनि छन्’, उनले भनिन् ।
आईयुआई पद्धतिबाट उपचार गर्दा १२ देखि १८ हजार रुपैयाँसम्म खर्च लाग्ने उनले बताइन् । यसमा उपचार सफल हुने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ । ‘आफ्नै श्रीमानको वीर्य प्रयोग गर्दा १२ हजारमा हुन्छ भने अरु कसैको वीर्य प्राप्ती गर्दा १८ हजारसम्म लाग्छ’, उनले भनिन् । क्लिनिकले निसन्तानपनको समस्या भएका विरामीको मात्रै उपचार गर्ने भएकाले विरामीको उपचार र स्याहारलाई प्राथमिकता दिने गरिएको उनी बताउँछिन् ।
आईभिएफ मार्फत गर्भधारण गर्दा ३ देखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ । यो उपचार पद्धति धेरै संवेदनशिल हुने भएकाले केहि खर्चिलो हुन पुगेको उनले बताइन् । यो पद्धतिबाट उपचार गर्दा सफल हुने सम्भावना ७० प्रतिशतसम्म हुने उनको भनाइ छ । सेवाग्राहीको संख्या बढ्दै गएपछि क्लिनिकले पुरानो मेडिकल कलेजपछाडि छुट्टै भवनबाट सेवा प्रदान गर्दै छ ।
























