Breaking News

पोखरा विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा दुःख व्यक्त

Banner

काठमाडौँ, माघ २–

पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ ट्वीट गर्दै दुःख प्रकट गरे । ‘भारतीय नागरिकलगायत यात्रुहरूको ज्यान जाने गरी नेपालमा भएको दुःखद् विमान दुर्घटनाबाट पीडा भएको छ । यो शोकको घडीमा मेरो प्रार्थना शोकसन्तप्त परिवारहरूको साथमा छ,’ मोदीले ट्वीटमा भनेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि ट्वीटमार्फत पोखरामा भएको विमान दुर्घटनाको खबरले गहिरो दुःख लागेको उल्लेख गरेका छन् । त्यस्तै भारतका नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई सहानुभूति दिँदै उक्त विमान दुर्घटना भयानक भएको बताएका छन् ।

अमेरिकी दूतावासले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताएका छन् । उनले ट्वीट गर्दै यस दुःखद् घडीमा आफूहरूको समवेदना नेपाली जनताको साथमा रहेको बताउँदै मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली, शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।

रुसी समाचार संस्था तासले राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ । पुटिनले सन्देशमा मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूतिसमेत प्रकट गरेको तासले उल्लेख गरेको छ ।

त्यस्तै पाकिस्तानले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । ‘पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एनटीवाई ६९१, ९ एन–एएनसी विमान बिहान १०ः५० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५३ नेपाली, भारतीय नागरिक पाँच जना, रुसी नागरिक चार जना, कोरियाका दुई जना र एक–एक जना आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका नागरिकको निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>