Breaking News
दास प्रथा अन्त्य भएको दिनको रुपमा कुमाल समुदायले मनाउँछन् माघे संक्रान्ति

प्रतिमा कुमाल,
चितवन, पुस ३०–
माघे संक्रान्ति नेपालीहरुले मनाउने एक प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति तथा माघी पर्व समेत भन्ने गरिन्छ । माघ महिनाको पहिलोदिन पर्ने यस पर्व नेपालका विभिन्न भेग र समुदायमा फरक फरक ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई कुमाल समुदायले पनि धुमधामका साथ मनाउने गर्दछ । यो समुदायले माघे संक्रान्ति पर्वलाई दास प्रथाको अन्त्यको दिनको रुपमा मनाउने गरेको नेपाल राष्ट्रिय कुमाल समाज सुधार समितिका उपाध्यक्ष रामसिंह कुमालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिम्दार प्रथामा धेरै जसो कुमालहरु अरुको घरमा काम गर्न बस्ने गर्दथे । सम्पूर्ण जग्गा जमिन जिम्दारको हातमा हुन्थ्यो । जसका कारण पनि अरुको घरमा हली बस्नुपर्ने बाध्यता थियो ।’ माघे संक्रान्तिकै दिन हली राख्ने र फुकुवा गरिने हुनाले यो दिनलाई मुक्तिको दिन वा स्वतन्त्रताको दिनको रुपमा हेरिने गरेको कुमालले बताउनुभयो । यस दिन घरमा काम गरिरहेको हलीले काम छोडेर नजावस भनेर जिम्दारले मिठा–मिठा भोजन समेत खुवाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।
‘एक वर्षको लागि हली राखिन्थ्यो । यसै दिनमा नै जिम्दारको घरमा अर्को वर्षका लागि काम गर्न बस्ने कि नबस्ने भन्ने कुराको छिनोफानो हुन्थ्यो,उहाँले भन्नुभयो’, फकाउनको लागि पनि मिठा–मिठा खाने कुराहरु खुवाउने चलन थियो ।’ हलीबाट मुक्त भएकाहरुले भने सबै चेलीबेटीहरुलाई बोलाएर रमाइलो गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
मुसो खन्ने चलन
मुसो खन्ने चलन कुमाल जातिमा पहिला देखिनै चलेको चलन हो । विशेषगरी गाईगोठमा रहेका हरुले मिलेर मुसो खन्ने गर्दथे । मुसो खन्ने चलनमा मुसोको दुलाबाट धान निकालेर संकलन गरिन्छ । यसरी संकलन गरिएको धानलाई कुटेर माघे संक्रान्तिको लागि जाँड बनाउने प्रचलन रहेको नेपाल कुमाल समाज सुधार समिति साँस्कृतिक समूहका सल्लाहकार खुस बहादुर कुमालले जानकारी दिनुभयो । माघे संक्रान्तिको रातमा एक ठाउँमा जम्मा भई रोधी बस्ने र त्यही रात नै मन मिलेका जोडीहरु भागेर विवाह गर्ने प्रचलन समेत कुमाल समुदायमा रहेको छ । यस्तै यो पर्वमा धानको सिला खोज्ने प्रचलन पनि कुमाल समुदायमा छ । धान काटेपछि गोठालाहरुलाई सिला खोज्ने विशेष जिम्मेवारी दिइन्छ । उनीहरुले खोजेको सिलालाई एक ठाउँमा जम्मा गर्ने र मिलमा कुटेर निकालिएको चामलले जाँड पकाउने चलन छ । यो जाँड संक्रान्तिको दिनमा नै खाने चलन छ ।
खिचडी र अचारको परिकार
यस दिन अन्य समुदायले विशेष गरेर घिउ, चाकु, तिलको लड्डु र तरुललाई मुख्य परिकार बनाएर खाने गर्छन । तर कुमाल समुदायले भने खिचडी र अचार बनाएर खाने गर्दछन् । यो दिन थरिथरिका अचार बनाउने गरिन्छ । विशेषगरी खुर्सानीको अचार धेरैको रोजाइमा पर्ने भएकाले सबैले यो अचार बनाएर खाने गर्छन । यसका साथै यो पर्वमा गङगटा, चिचर, माछा, घोङ्गी, तरुल, पिडालु पनि कुमाल समुदायको मुख्य परिकार हुन् ।
पितृको सम्झना
माघे संक्रान्तिका दिन गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । सोही अनुसार यस दिन प्रकृति पुजक कुमाल समुदायका मानिसहरु नदीमा स्नान गरी पितृलाई सम्झी पूजा गर्ने गरेको सल्लाहाकार कुमालले बताउनुभयो । साथै यो पर्वमा चेलीबेटी पुज्ने गरिएको उहाँले बताउनुभयो । आइतबार संक्रान्तिका दिन देशभरका रहेका कुमाल समाज सुधार समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्देछन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ स्थित कुमालहरुको पूजा गर्ने ठाँउमा पनि माघे संक्रान्ति विशेष कार्यक्रम आयोजना गरिएको छ ।


























