चितवन विशेष
इनरह्वील क्लबको स्थापना दिवस

चितवन,पुस २७-
सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको क्लब इन्टरनेशनल इनरह्वील डिष्ट्रक ३५० ले क्लबको स्थापना दिवस मनाएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी ९९औँ स्थापना दिवस मनाएको हो ।
महिलालाई सक्षम बनाउने र बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले आफ्ना गतिविधि अगाडि बढाउँदै आएको सो क्लबले गरेका कामको प्रभावकारिता र आगामी कार्ययोजनाको विषयमा छलफल गरी स्थापना दिवस मनाएको हो । डिष्ट्रकको आयोजना र इनरह्वील क्लब अफ भरतपुर, इनरह्वील क्लब अफ नारायणी, इनरह्वील क्लब अफ भरततपुर सिटी र इनरह्वील क्लब अफ भरतपुर डिभाइनको सह–आयोजनामा कार्यक्रम गरिएको हो । क्लबको स्थापना दिवसको अवसरमा क्लबमा आबद्ध महिलाहरुबीच आत्मीयता साटासाट, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रककी अध्यक्ष सीमा झाले इनरह्वील क्लब नेपालका महिलाहरुको सबै भन्दा ठूलो संस्था भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सक्षम बनाएर आत्मनिर्भर बनाउने र आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षा प्रदान गर्ने क्लबको मुख्य उद्देश्य रहेको झाले बताउनुभयो । कार्यक्रममा अधिवक्त फूलमाया रानाभाटले महिला सशक्तीकरण, आयआर्जन र सीप विकासका बारेमा प्रकाश पार्नुभएको थियो ।
इनरह्वील क्लब अफ मिट हाउन पोखराकी पूर्वअध्यक्ष पार्वती पाण्डेले विश्वका १०७ वटा देशमा रहेको इनरह्वील क्लब नेपालमा ३५ वटा जिल्लामा रहेको बताउनुभयो । कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रककी राष्ट्रिय प्रतिनिधि कमलप्रभा खरेल, इनरह्वील क्लब अफ बुटवलकी पूर्वअध्यक्ष सरस्वती श्रेष्ठ, इन्टरनेशनल इनरह्वील डिष्ट्रिककी निवर्तमान अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ३०० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
























