Breaking News

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने

Banner

काठमाडौँ, पुस २६–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि नेपाली कांग्रेसलगायत सरकारलाई समर्थन नगरेका विभिन्न पार्टीले संसदीय दलको बैठक बोलाएका छन्।

विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनसकेका कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शनिबार बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने–नदिनेबारे कुनै निर्णय नगरेपछि आज पुनः बैठक बस्न लागेको हो। कांग्रेसमा सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक देखिएका छन्।

हिजो साँझ विश्वासको मतका लागि आग्रह गर्दै आफ्नै निवास धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले विश्वासको मतको आश्वासन दिएका थिए। देउवा इतर पक्षका नेताहरु भने प्रतिपक्षविहीन संसद बनाउन नहुने भन्दै विश्वासको मत नदिने अडानमा देखिन्छन्। प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन्।

यस्तै एकीकृत समाजवादीको बैठक पनि आज बस्दैछ। यसअघि बसेको स्थायी कमिटी तथा पोलिटब्यूरो बैठक सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा अनिर्णित भएपछि आज सचिवालय बैठक बसरे यसबारे निर्णय गर्न लागेको हो।

एकीकृत समाजवादीको सचिवालय बैठक अहिले केहीबेरमा बस्न लागेको उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन्। प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि विश्वासको मत दिने नदिनेबारे आजै निर्णय लिने भएको छ। यसअघि बसेको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने नदिनेबारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।

ठाकुरले विश्वासको मत दिने–नदिनेबारेको जानकारी आफ्ना सांसदहरुलाई आज दिने तयारी गरेका छन्। प्रतिनिधिसभामा लोसपाका ४ सांसद छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>