Breaking News

सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने वातावरण बनाउँछु: प्रधानमन्त्री प्रचण्ड

Banner

धनगढी, पुस २१-

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिएका छन् । बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए । ‘प्रधानमन्त्रीज्यूले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ’, चौधरीले भने ।

प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमबिक्रम भाट लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ ।

प्रदेश प्रमुखले २७ पुस साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् भने प्रदेशसभा सचिवालयले २८ पुसमा सभामुख चयनका लागि निर्वाचन गर्ने भएको छ । यस्तो अवस्थामा सरकार बनाउन दलहरु सघन छलफलमा जुटेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>