मनोरञ्जन
‘प्रसाद २’ को छायांकनमा व्यस्त भएपछि विपिनले छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौँ, पुस १८-
अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ छाडेका छन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि मिहिनेत गरेका थिए । तरअहिले आएर उनले फिल्म छोडेका हुन् ।
विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई वर्ष अगाडि साइन गरेका थिए । त्यसका लागि उनी नेपाल र मुम्बई धेरैपटक ओहार दोहोर पनि गरे । बलिउड फिल्मको चक्करमा उनले धेरै नेपाली फिल्म छोडे । तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन् ।
विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो । व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए ।






















