मनोरञ्जन
अवतार २ ले ‘स्पाइडरम्यान’लाई उछिन्यो,नेपालमा कुल १० करोड कमाइ गर्ने प्रक्षेपण

काठमाडौं,पुस १५-
जेम्स क्यामरुन निर्देशित साइन्स-फिक्सन फिल्म ‘अवतार: द वे अफ वाटर’ यस वर्ष नेपालमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । १३ वर्षअघि नेपालमा समेत रिलिज भएको फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले दुई सातामा नेपालमा आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।
अंग्रेजी नयाँवर्ष २०२३ को छेको र पछिल्लो सप्ताहन्तमा फिल्मको कमाइ अझै स्थिर हुने आशा आफूले लिएको एप्पलले बताएको छ । ‘यो ऐतिहासिक कमाइ हो । यो विकेन्डमा पनि फिल्मले अझै धेरै कमाइ गर्न सक्छ,’ एप्पलकी जेनिशा पहारीले भनिन् ।
फिल्मको नेपालमा लाइफटाइम कलेक्सन १० करोड हाराहारीमा हुने प्रक्षेपण आफूहरुले गरेको एप्पलले जनाएको छ । पुस १ गते रिलिज भएको फिल्म अहिले पनि आक्रामक अकुपेन्सीसहित मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।
‘अवतार २’ले यस वर्षको सुरुवातमा रिलिज भएको हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान स् नो वे होम’को नेपालको कमाइलाई पनि उछिनेको छ । टम हल्याण्ड स्टारर उक्त फिल्मले नेपालमा ७ करोड ३० लाख रुपैयाँ लाइफटाइम कलेक्सन गरेको थियो । यसैवर्ष रिलिज भएको अर्को हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्टेन्ज इन द मल्टिभर्स अफ म्याडनेसले नेपालमा ४ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।






















