Breaking News

अर्थ मन्त्रालयमा विष्णु पौडेल फर्केपछि निजी क्षेत्र उत्साहित

Banner

काठमाडौँ, पुस १५–

जिम्मेवारी छाडेको करिब १७ महिनापछि पुनः विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा फर्केसँगै निजी क्षेत्र उत्साहित बनेको छ । २०७७ असार २९ गते ‘लोकतान्त्रिक वाम गठबन्धन’ सरकार गठन भएसँगै पौडेलले अर्थमन्त्रीको पद गुमाएका थिए । तर, मन्त्रालय छाडेको करिब डेढ वर्षपछि उनी फेरि अर्थ मन्त्रालयको नेतृत्वमा फर्किएका हुन् ।

वाम एकता टुटेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका पार्टी मिलेर सरकार गठन गरेका थिए । तर, त्यसको १७ महिनापछि नेकपा एमाले र माओवादी केन्द्रको पुनर्मिलनसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेको छ । नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेलले निजी क्षेत्रसँग छुट्टा–छुट्टै भेटवार्ता गरिसकेका छन् ।

निजी क्षेत्रमैत्री भनेर चिनिने पौडेल तेस्रो पटक अर्थ मन्त्रालयको नेतृत्वमा आएपछि निजी क्षेत्रले अर्थतन्त्र सुधार्ने सुझावसमेत पेस गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श गरी तीन वटै व्यावसायिक छाता संगठनले अर्थमन्त्री पौडेललाई भेटेर अर्थतन्त्र सुधार्ने सुझाव पेस गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नयाँ सरकार गठनसँगै निजी क्षेत्रमा उत्साह सञ्चार भएको बताउँछन् । नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्ने र बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रलाई ‘ट्र्याक’मा ल्याउने विश्वास निजी क्षेत्रमा पलाएको गोल्छा बताउँछन् । यससँगै निजी क्षेत्र उत्साहित बनेको उनले बताए ।

‘सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले बिग्रँदो अर्थतन्त्रलाई सम्बोधन गर्ने निर्णय गरेको थियो,’ गोल्छा भन्छन्, ‘र, उक्त बैठकले यो सरकारको पहिलो प्राथमिकता नै अर्थतन्त्र भएको देखाइसकेको छ ।’ –रातोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>