चितवन विशेष
मौलाकालिका अस्पतालको सहयोगमा भिडियो एक्सरेसहितको निःशुल्क स्वास्थ्य शिविर

चितवन,पुस १२-
चितवनको रत्ननगर नगरपालिकामा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । भरतपुरको मौलाकालिका अस्पताल र रत्ननगरको अंकुरम पालिक्लिनिक प्रालिको सहयोगमा आज (मंगलबार) रत्ननगर नगरपालिका–१३ प्रगति बस्तीमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा करिव दुई सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

अस्पतालको पहुँचबाट बाहिर रहेका विपन्न नागरिकलाई लक्षित गरेर भिडियो एक्सरेसहितको स्वास्थ्य शिविर गरिएको मौलाकालिका अस्पतालमा कार्यरत बरिष्ठ रेडियोलोजिष्ट डा.रमेश घिमिरेले जानकारी दिनुभयो । सेवालाई पहिलो प्राथमिकता दिने डा. घिमिरेले फिल्डमै पुगेर नागरिकको भिडियो एक्सरे गरिएको बताउनुभयो । सो अवसरमा करिब ७० जनाको निःशुल्क भिडियो एक्सरे गरिएको थियो ।
भिडियो एक्सरे गरिएका धेरैजसो विरामीहरुमा कलेजोमा बोसो जमेको, पित्त थैलीमा पथ्थरी, मिर्गाैलामा पथ्थरी, पाठेघरमा मासु पलाएको, पाठेघरमा संक्रमण जस्ता समस्या देखिएको डा.घिमिरेले बताउनुभयो । सो अवसरमा अंकुरम पालिक्लिनिकबाट निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

यस्तै मौलाकालिका अस्पतालका फिजिसियन डा.विमल पौडेल,डा.प्रशान्त आचार्य र डा.निरज पौडेलले विरामीको स्वास्थ्य जाचँ गर्नुभएको थियो । शिविरमा अंकुरम पालिक्लिनिक प्रालिका स्वास्थकर्मीले सहयोग गर्नुभएको थियो । शिविरमा स्वास्थ्य जाचँ गरेका विरामीहरुलाई मौलाकालिका अस्पतालले २० प्रतिशत छुटमा उपचार गर्ने जनाएको छ । अस्पतालले नियमित रुपमा विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ । शक्तिशाली आमा समूह रत्ननगरको संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादब पाठक प्रमुख अतिथि रहनुभएको थियो ।
























