Breaking News
राप्रपा महामन्त्रीमा चितवनका शरदराज पाठक मनोनीत, रवीन्द्र मिश्र पक्षबाट ४० केन्द्रीय सदस्य थपिए

काठमाडौं,पुस ७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा चितवनका शरदराज पाठक मनोनीत भएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन्। राप्रपामा यसअघि ५ जना महामन्त्री थिए, पाठकसहित ६ जना महामन्त्री भएका छन्।
मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा पाठक प्रवक्ता थिए। मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए। गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो। पार्टीले त्यसबेला १० दिनभित्र समायोजन गरिसक्ने भने पनि चुनावका कारण देखाएर ढिलाइ भइरहेको थियो।
अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजका काम सुरू हुने राप्रपाले जनाएको छ। मिश्र पक्षबाट आएका ३५ जना केन्द्रीय सदस्य भइसकेका छन् भने ५ जना मनोनीत हुन बाँकी छ। साथै केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनीत भएका छन्।
साथै सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी मनोनीत भएका छन्। सहायक महामन्त्रीमा हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत भएको राप्रपाले जनाएको छ।
अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल केन्द्रीय सदस्यमा मनोनीत भएको मिश्रको सचिवालयले जनाएको छ।


























