चितवन विशेष

भरतपुरमा स्मार्ट वाटर प्रविधिको विकास गर्दै दियालो

Banner

चितवन,पुस ४-

दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो । कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैँ प्रोत्साहन गरेको धारणा व्यक्त गरे ।

यस्तै, कार्यक्रममा अतिथिहरूले मन्तव्य व्याक्त गर्दै दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधिको प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको बताए । पन्तले कार्यालय व्यवस्थापन तथा आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको धारणा व्यक्त गरे ।

कम्पनीले खानेपानीका उपभोक्तालाई डिजिटल माध्यमबाट संस्थागत कारोबार र अन्तर्क्रिया गरी छिटो अवधिमा पहुँच दिनुका साथै संस्थाको कारोबार पारदर्शी बनाई खानेपानी व्यवस्थापनमा सहयोग गरिरहेको बताएको छ । यस्तै, कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले प्रविधिको प्रयोग र त्यसमा जनताको पहुँच पुर्‍याउने कार्यमा महानगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रूपमा अटोमेसन गर्ने बताइएको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्याङ्की व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरूको विकास गरेको बताइएको छ । यस कार्यक्रममा चितवन,मकवानपुर र नवलपुर जिल्लाका ८० वटा खानेपानीका १५० जना पदाधिकारी र व्यवस्थापकहरूको सहभागिता थियो ।

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरूलाई डिजिटलाइजेसन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको भरतपुर महानगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा विस्तार गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>