Breaking News
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सकिदैनः प्रचण्ड

चितवन, पुस ४–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने स्पष्ट पारेका छन् ।
आज विहान गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले भरतरपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको कुनै संभावना नरहेको स्पष्ट पारे । ‘केही बुद्धिजीवीहरुबाट त्यस्तो व्यक्ति बनाउँदा के होला भन्ने सुझाव आएको छ तर गठबन्धन दलभित्र र अन्य दलभित्र यस्तो विषयमा छलफल भएको छैन, यो संभावना पनि छैन’–अध्यक्ष प्रचण्डले भने ।
उनले विगतमा भएको मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतका आन्दोलनको विषयमा सरकारले सम्झौता गरेकाले सोही अनुसार अध्यादेश ल्याएको स्पष्ट पारे । उनले अध्यादेश प्रक्रिया सामान्य भएको प्रतिक्रिया दिए ।
यस्तै अध्यक्ष प्रचण्डले यस निर्वाचनबाट माओवादी कमजोर भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । ‘माओवादी कमजोर भएको कुरा सत्य होइन, प्रत्यक्षमा जति सिट ल्याउनुपर्ने हो त्यो नसकिएको कुरा चाँही हो, समानुपातिकमा पनि माओवादीको जनमत धेरै घटेको छैन, बरु कांग्रेस र एमालेको नै भोट धेरै घटेको देखिन्छ’–अध्यक्ष प्रचण्डले भने ।

























