Breaking News
चार महिनामा महँगी १० प्रतिशतले बढ्यो

काठमाडौं, पुस १–
नेपालमा ४ महिनामा खाद्यान्न‚ दूध र अण्डामा करिब १० प्रतिशतले महँगी बढेको छ। चालू आर्थििक वर्ष २०७९÷८० को साउनदेखि कात्तिकसम्म दुग्धजन्य पदार्थ र अण्डामा ९.३३ प्रतिशतले मूल्य वृद्धि भएको छ भने खाद्यान्न तथा खाद्यजन्य पदार्थमा ९.१९ प्रतिशतले महँगी बढेको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि पनि गत वर्षको तुलनामा २ प्रतिशतले बढेर ८.०८ प्रतिशत पुगेको छ। अघिल्लो आवको ४ महिनामा उपभोक्ता मूल्य वृद्धि ६.०४ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थअन्तर्गत होटल रेष्टुरेन्ट उपसमूहमा १५.९७ प्रतिशत, सूर्तीजन्य पदार्थमा ११.८१ प्रतिशत र मदिराजन्य पदार्थ ८.८४ प्रतिशतले महँगो भएको छ।
यातायातमा १७.७१ प्रतिशत, स्वास्थ्यमा ११.२२, मनोरन्जन तथा संस्कृतिमा ८.७६, घरायसी उपयोगका वस्तुहरूको मूल्य ८.८९ प्रतिशतले बढेको छ।
गत वर्षको तुलनामा तराईमा २.३८ प्रतिशतले मूल्य बढेर सबैभन्दा बढी ८.५२ प्रतिशत पुगेको छ। पहाडी क्षेत्रमा करिब ३ प्रतिशतले महँगी बढेर कात्तिक महिनामा ८.०३ प्रतिशत पुग्दा काठमाडौं उपत्यकामा १ प्रतिशतले बढेर मूल्यवृद्धि ७.५६ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ।


























