Breaking News
युवाकालको खेलाडी भएकोले मलाई खेलमा रुची छ: प्रचण्ड

काठमाडौँ,मंसिर २४-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूपनि युवाकालको खेलाडी भएको बताएका छन् । शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले आफूपनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको बताए । त्यस्तै उनका अनुसार हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको दिशामा पनि खेलको ठूलो भुमिका हुन्छ ।
उनले भने– ‘मैले आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष लाइभ हेर्दैछु । म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुची रहेको छ । भर्खरै नेपालम नवौं राष्ट्रिय खेलको आयोजना पनि भयो । त्यसमा पनि रग्बीलाई एउटा खेलको रुपमा प्रतियोगितामा सामेल गरिएको थियो । खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरूको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ । यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेलेको हुन्छ ।’


























