Breaking News
साढे ५ महिनामा १० अर्ब ३८ करोड रुपैयाँको बिजुली भारत निर्यात

काठमाडौं, मंसिर २-
देशबाट आयातमा खर्बौं रकम बाहिरिरहेको बेला नेपाल विद्युत प्राधिकरणले भने विद्युत निर्यातबाट अर्बौं रकम भित्र्याएको छ । प्राधिकरणले पछिल्लो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारतलाई बिक्री गरेको हो । प्राधिकरणका अनुसार कात्तिकसम्म एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली कात्तिकसम्ममा निर्यात गरिएको छ ।
प्रााधिकरणले गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणले जनाएको छ ।
सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युत बिक्री गरिँदै आएको छ । दैनिक रुपमा ३६४ मेगावाट नेपाली विद्युत भारतीय बजार पुग्छ ।
गत कात्तिक १८ र ३० बाट क्रमश: चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरू भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ । आइएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा छ ।
खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन कम हुन थालेको र निर्यातको परिमाण पनि क्रमशस् घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले भने,‘उद्योगहरूले अहिले स्वीकृति लोड अनुसार विद्युत नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतको माग बढ्न सकिरहेको छैन,अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ ।’
भदौमा नेपालले विद्युत निर्यात बाट सबैभन्दा बढी कमाएको छ । त्यसयता भने विद्युत निर्यात क्रमशस् कम छ ।




























