Breaking News
चितवनमा सम्हालिदैं कांग्रेस, असन्तुष्टहरु पार्टीकै पक्षमा खुल्दै

चितवन, कात्तिक २२–
प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीले टिकट नदिएपछि जिल्लाका नेताहरु असन्तुष्ट हुँदा भाँडीएको कांग्रेस सम्हालिदै आएको छ । कतिपय बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने दाबी गर्नेहरु टिकट पाउने उम्मेदवार बोकेर चुनाबी मैदानमा जुटेका छन् । केहीको असन्तुष्टि बाँकी रहे पनि अधिकांश दलको निर्देशनअनुसारका कार्यक्रममा जुट्न थालेका छन् ।
नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुव पोख्रेलका अनुसार जे जती असन्तुष्टि रहे पनि पार्टी भित्रै संघर्ष गर्नुपर्ने भन्दै गठवन्धनको उम्मेदवारका पक्षमा अधिकांश लागेको उहाँले बताउनुभयो । तत्कालिन समयमा क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएका राजेन्द्र बुर्लाकोटी उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवार डा. विश्वनाथ पौडेलका पक्षमा चुनाबी मैदानमा हुनुहुन्छ । सुरुका दिनमा टिकट नपाए पछि निकै असन्तुष्ट बन्नु भएका नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको चुनाबी नेतृत्व गरेर गठवन्धन जिताउने अभियानमा जुट्नु भएको छ । निवर्तमान सभापती जीतनारायण श्रेष्ठ आफ्नो असन्तुष्टिलाई थाति राखेर चितवन क्षेत्र नम्बर २ का उम्मेदवार बोकेर पाहाडी क्षेत्रमा प्रचारमा जुट्नुभएको छ ।
टिकट नपाए पछि त्यहाँका उम्मेदवार उमेश श्रेष्ठको केही दिन टेलिफोन समेत नउठाउनु भएका दाबेदारहरु उहाँको प्रचारमा ज्टेपछि चुनाबी अभियानले तिब्रता पाएको सचिब पोख्रेलको भनाई छ । निवर्तमान जिल्ला सभापति श्रेष्ठले आफुले टिकट नपाउँदा सुरुका दिनमा नराम्रो लागे पनि पार्टीलाई भविश्य ठान्ने आफुहरु गठवन्धन भन्दा बाहिर जान नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “मेरो क्षेत्र र अन्य दुई क्षेत्रका गठवन्धनका उम्मेदवार जिताउने शंकल्प सहित म चुनाबी मैदानमा छु ।” क्षेत्र नम्बर १ मा उम्मेदवारी फिर्ता लिनु भएका बर्तौला जसरी पनि गठवन्धनका उम्मेदवार जिताउने अभियानमा हुनुहुन्छ । उहाँले भन्नुभयो “मलाई निकै चित्त दुखेको थियो । यद्यपी पाटी बाहिर गएर निर्णय लिनु हुन्न र यही भविश्य छ भनेर उम्मेदवारी फिर्ता लिएर चुनाबी मैदानमा जुटेको छु ।” एक सिट गुम्दा धेरै अबसर गुम्ने भएकाले उम्मेदवारका पक्षमा आूफु लागिपरेको उहाँको भनाई छ ।
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा बागी उम्मेदवारको पक्षामा निरन्तर लाग्नु भएका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत अहिले पार्टीका उम्मेदवारका पक्षमा लाग्नुभएको छ । उहाँले भन्नुभयो “पार्टीले कारवाही फिर्ता गरोस वा नगरोस् म काङ्ग्रेसको उम्मेदवारको पक्षमा छु ।” उहाँ जस्तै अरु धेरै पार्टीको पक्षमा खुलेर लागेका छन् । तत्कालिन समयमा भूईकटहर चुनाब चिन्ह बोकेर हिडेका धेरै गठवन्धनको पक्षमा अहिले जुटेका छन् ।
नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठले असन्तुष्टहरुलाई उहाँहरुका असन्तुष्टिका विषयमा छलफल गर्दै पूर्ववत अबस्थामा फर्काइएको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी सम्हालिएको छ । सबै गठवन्धनका पक्षमा रहेका छन् ।” साना तिना असन्तुष्टि रहेकाहरुको सम्बोधन पार्टीले गर्ने भन्दै उहाँले खुलेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको बताउनुभयो ।


























