Breaking News
प्रचण्डविरुद्ध मत मागेको आरोप लागेका गण्डकीका मन्त्री आचार्य बर्खास्त

पोखरा, कात्तिक २२-
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।
मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ ९क० बाट उम्मेदवारको आकांक्षी थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए ।
गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए ।


























