चितवन विशेष
देशको मुहार फेर्न राजनीतिमा आएँः गायक मिलन लामा

चितवन, कात्तिक २१–
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा निकै ख्याति कमाएका गायक तथा सर्जक मिलन लामाले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन्। चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उमेदवारी दिएका लामाले देशको मुहार फेर्ने लक्ष्य लिएर मतदाता समक्ष उपस्थित हुँदै आएका छन्।
उनी चुनावी अभियानकै लागि घरघर डुलेर मतदातासँग भेटघाट गरिरहेका छन्। रत्ननगर ९ मोहना घर भएका लामा लोक दोहोरी क्षेत्रमा करिब दुई दशकभन्दा लामोसमयदेखि सक्रिय छन् । कलाकारिताकै सिलसिलामा देश विदेश घुमेका लामा आफ्नो सांगितिक क्षेत्रबाट पाएको अनुभवलाई नै राजनीतिमार्फत समाजमा प्रयोग गर्न चाहन्छन्।
त्यसैले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका गायक लामाले घरदैलो गर्दा पनि गीत गाएरै भोट मागिरहेका छन्। सामाजिक काममा समेत उत्तिकै सक्रिय लामा देश परिवर्तन गर्नको लागि सरकार नै आवश्यक हुने देखेपछि उमेदवार बनेको बताउँछन्।
‘संसदमा पुगेपछि सामान्य भुइँमान्छेका समस्या समाधान गर्न सहज हुन्छ,’ उनी भन्छन्, ‘सरकारभन्दा बाहिर बसेर एक्लैले देशको मुहार फेर्छु भनेर सम्भव हुँदैन।’ गरिब तथा विपन्न वर्गको लागि एक सय घर बनाउने अभियानमा लागेका गायक लामाले हालसम्म २५ वटा घर बनाइसकेका छन्।
























