Breaking News

निहारिका भन्छिन्: बुहारी बनेर ‘बलात्कारी’ को घरमा जादिन, बच्चालाई आफ्नै नाम दिन्छु

Banner

काठमाडौं, कात्तिक २०-

‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएपछि राहतको लामो सास फेरेकी छन्, तर, अझै पनि उनले उठाएको मुल मुद्दा भने बाँकी नै छ ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको पुष्टि गरेको थियो ।
उच्च अदालतले निहारिकाको मुद्दाको पेशी आगामी २५ गतेका लागि तोकेको छ । पेशी तोक्न ढिलाइ भएकोमा पनि निहारिकाले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।

निहारिकाको बच्चा र आरोपीको डिएनए म्याच हुनु भनेको उनीहरु बाबु-छोरा भएको नाता प्रमाणित हुनु हो । आरोपी शिवराजले निहारिकाले जन्माएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । डीएनए रिपोर्टले उनको दाबी गलत र निहारिकाको दाबी सही ठहरिएको छ । तर, निहारिकाले भनेजस्तै यो रिपोर्टले शिवराजलाई ‘बलात्कारी’ ठहर भने गर्दैन । त्यसको निरोपण उच्च अदालतले गर्नुपर्ने हुन्छ ।

निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।

निहारिकाले भनेजस्तो बलात्कार ठहर्‍याउनका लागि अदालतलाई डीएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन । अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ । अदालतले बलात्कार नठहर्‍याएर डीएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिन सक्छ । नेपालको कानूनअनुसार यदि कुनै पनि महिला र पुरुषले। सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन् ।

तर, निहारिका भने कुनै पनि हालतमा शिवराजले सजाय पाउनुपर्ने अडानमा छिन् । उनले श्रीमान्-श्रीमतीका रूपमा नाता प्रमाणित गर्न वा शिवराजबाट अंश पाउनका लागि आफूले मुद्दा नहालेको बताइन् ।

उनले भनिन्, ‘यो बलात्कारको मुद्दा हो, त्यसैले डीएनए म्याच भइसकेपछि अपराधीलाई सजाय हुनुपर्छ । न मलाई उसको श्रीमती भएर बस्न मञ्जुर छ, न उसको एक रूपैयाँ अंश मलाई चाहिन्छ ।’

उनले आफूबाट जन्मेको बच्चालाई आफ्नै नाम दिनका लागि अर्को संघर्ष गर्ने पनि बताइन् ।
निहारिकाका अनुसार डीएनए म्याचपछि शिवराजको परिवारले उनलाई विवाह गरेर बुहारीका रूपमा घरमा भित्र्याउने हल्ला चलाइरहेका छन् । तर, आफू कुनै पनि हालतमा बुहारी बनेर ‘बलात्कारी’ को घरमा नजाने उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>