Breaking News

चितवन १ को घरदैलोमा निस्किए डा.विश्व पौडेल र कृष्ण खनाल

Banner

चितवन, कात्तिक १७–

चितवन क्षेत्र नं.१ का गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा.विश्वनाथ पौडेल घरदैलो अभियानमा निस्किएका छन् । पाँचदलीय गठबन्धनले आज (बिहीबार)देखि घरदैलो अभियान सुरु गरेपछि उम्मेदवार पौडेल औपचारिक रुपमा जनताको घरदैलोमा पुग्न थालेका हुन् ।

गठबन्धनले रत्ननगरको वडा नं ३ मा रहेको गणेश मन्दिरमा पुजा गरेर औपचारिक रुपमा घरदैलो सुरु गरेको हो । पहिलो दिन गठबन्धनका दुई उम्मेदवार पौडेलसंगै १ (ख)का उम्मेदवार कृष्णप्रसाद खनालसहितको टोली घरदैलो अभियानमा निस्किएका हुन् । उनीहरुले वडा नं.१, २, ३ र ४ मा पहिलोदिन कोणसभा र घरदैलो गरेका हुन् ।

गठबन्धनले शान्तिचोक र टाँडीचोकलगायतका स्थानमा कोण सभा समेत गरेका छन् । कोण सभामा बोल्दै नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका डा.विश्वनाथ पौडेल र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले सम्बोधन गरेका छन् । सो क्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष एवं अर्थशात्री समेत रहेका पौडेलले पूर्वीचितवनको विकास गठबन्धनका उम्मेदवारबाट मात्रै सम्भव रहेको बताए । उनले अहिलेको निर्वाचन गठबन्धनले जित्नै पर्ने भन्दै संविधान रक्षाको लागि पनि निर्वाचन जित्न आवश्यक रहेको बताए । डा.पौडेलले पूर्वी चितवनको चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा होमिएको भन्दै यहाँका जनता विकासको पक्षधर भएको बताए ।

यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका कृष्ण खनालले अहिलेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने दरिलो माध्यमका रुपमा लिएको बताए । विकास निर्माणसंगै अघिल्लो सरकारले गरेका गतल क्रियाकलापलाई जनताको माझमा लैजानु पर्ने बताए । उनले आफू मन्त्री पदमा रहँदै गर्दा यहाँको विकासका लागि महत्वपूर्ण कार्यको सुरुवात गरिएको दावी गरे ।

यस्तै गठबन्धनका १ (क)का उम्मेदवार किरण भुषण ओलीले पनि घरदैलो कार्यलाई अगाडि बढाएका छन् । उनले आज राप्ती नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो अभियान गरेका छन् । उनका साथ बागमती प्रदेश समानुपातिक उम्मेदवार चन्द्रकुमारी चौधरीलगायतका उम्मेदवारहरु सहभागि भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>