Breaking News
१० देखि १२ वर्ष जेल सजायको माग गर्दै सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, कात्तिक १४-
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नैपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको छ ।
प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
लामिछानेविरुद्ध गएको भदौ २१ गते १७ वर्षकी एक किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकोमा प्रहरीले उनलाई २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।


























