चितवन विशेष

एलाईभ हस्पिटलमा युरोपियन मापदण्डको आकस्मिक (इमरजेन्सी) कक्ष स्थापना

Banner

चितवन, कात्तिक ७–

एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरले दुर्घटनामा परेका बिरामीहरुका लागि विशेष आकस्मिक कक्ष स्थापना गरेको छ । आकस्मिक कक्षको सोमबार जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले समुद्घाटन गरे ।

सो क्रममा बोल्दै उनले नयाँ आकस्मिक कक्ष स्थापनाले बिरामीहरुले सहज सेवा पाउनेमा विश्वास व्यक्त गरे । उनले विगतमा गाउँघरमा विद्यालय स्थापना हुँदा खुशी हुनुपर्ने क्षण रहेको स्मरण गर्दै अहिले अस्पतालको सेवा विस्तारले सबैलाई उत्साहित बनाउने बताए ।

अस्पतालका अध्यक्ष डा.प्रमोद लामिछानेले युरोपियन मापदण्ड अनुसार आकस्मिक कक्षको स्थापना गरिएको बताए । विदेशमा आफूले सिकेको ज्ञान र देखेको प्रविधिलाई पछ्याउँदै आकस्मिक कक्ष निर्माण गरिएको उनले बताए । आकस्मिक कक्षमा एक्स–रे, इसीजीलगायतका सबै सेवा एकै ठाउँमा हुनेछ । जसले गर्दा बिरामीहरुले समयमै सबै उपचार पाउने डा.लामिछाने बताउँछन् । ‘बिरामीलाई विभिन्न कोठा चहार्दा समय अभावकले समयमै सही उपचार पाउन मुश्किल हुन्छ, हामी आकस्मिक कक्षमै एक्स–रे, इसीजी, ल्याबको सुविधा दिदैँ छौं’–डा.लामिछानेले भने ।

आकस्मिक कक्षमा हाल पाँच बेड बनाईएको छ । उनले विदेशमा पनि विशेष आकस्मिक कक्षमा धेरै बेड नहुने भन्दै थोरै बेडमा आवश्यक बिरामीको मात्रै उपचार गरिने बताए । एलाईभ हस्पिटल २०६८ असार २४ गते स्थापना भएको हो । १० वर्षको अवधिमै १८ हजार भन्दा बढी बिरामीको शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ । अस्पतालमा मुख्यगरि हाडजोर्नीको शल्यक्रिया हुने गरेकोमा मेरुदण्ड, न्यूरो, अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया, चोटपटक , जोर्नी प्रत्यारोपण, दुरबिनबाट जोर्नीको शल्यक्रिया तथा दुर्घटनाबाट हुने ठूला चोटपटकको शल्यक्रियाको सेवा रहेको छ ।

डा.लामिछानेले भने–‘निरन्तर सेवाका लागि प्रविधि तथा भौतिक पूर्वाधारलाई समयसापेक्ष विस्तार एवं सुधार गर्दै जानुपर्छ भन्ने मान्यताका साथ आज हामीले चोटपटक तथा दुर्घटनाका घाइतेका छुट्टै आकस्मि कक्ष (इमरजेन्सी ब्लक) सुरुवात गरेका छौं, ‘ट्रमा’ उपचारका लागि युरोपबाट सिकेर आएको आधारमा आकस्मिक कक्षलाई युरोपियन मापदण्डको बनाएका छौं । हामीसंग ट्रमा इमरजेन्सी सेवाका लागि ४ जना विशेषज्ञसहित १५ जना स्वास्थ्यकर्मीको टोली हरदम ‘स्ट्याण्डबाई’ रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>