Breaking News

नारायणगढ धर्मचोक धुलाम्मे सडकः चार वर्षमा तीन पटक म्याद थप, अझै २५ प्रतिशत काम बाँकी

Banner

प्रतिमा कुमाल

चितवन, कात्तिक–२

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माणको प्रगति तीनपटक म्याद थप्दा ७५ प्रतिशत पुगेको छ ।
चार वर्ष तीन महिनाको अवधिमा तीन पटक म्याद थप्दा पनि यस सडकको काम अझै २५ प्रतिशत बाँकी रहेको हो ।

बाँकी काम यही कात्तिक २५ गतेसम्म सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नाला र सबबेसको काम सकियो । नाला चेकजाँच गर्ने काम छ । र, सबबेस राम्रोसँग नसुक्दा सम्म कुर्नुपर्छ । त्यसपछि सडक कालोपत्रे गरिन्छ । १० दिनको काम हो । काक्तिक २५ गतेसम्म सकिन्छ ।’

यद्यपि जेभीले नेपाल सरकारबाट २०७९ साल चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । जेभीको अनुसार अब ४८० मिटर सडक बनाउन बाँकी छ । करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिव शक्ति जेभीसँग यसको सम्झौंता गरेको थियो । सम्झौता अनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । १० मिटर चौडाइको यस बाटो निमार्णको लागि सडकको दुवै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ ।
यो सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको छ । जसकालागि सरकारले ९९ करोड, ९७ लाख, चार हजार ९०९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठ चोक, धर्मचोक र कचपचे चोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको शहरी विकासका इञ्जिनियर पुजन न्यौपानेले बताउनुभयो । अब २१ करोड भुक्तानी दिन बाँकी रहेको उहाँको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>