Breaking News

चितवन-३ मा उम्मेदवारी दिदै विक्रम पाण्डेले भनेः भागेर अर्को निर्वाचन क्षेत्रमा जाने छैन

Banner

चितवन,असोज २३-

पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । प्रस्तावकमा उमाकान्त पौडेल र समर्थकमा गणेश बराल रहनुभएको छ । २०७० सालमा पाण्डे तत्कालिन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

साविक ५ नम्बर क्षेत्र हाल चितवन–३ मा पर्छ । २०७४ को चुनावमा पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याउनुभएको थियो । एमाले र माओवादी केन्द्र एकता गर्ने गरी बनेको वामगठबन्धनसँग उहाँ पराजित हुनुभएको थियो ।  उहाँ पूर्व वन तथा भूसंरक्षण मन्त्री समेत हुनुहुन्छ । उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै पूर्वमन्त्री पाण्डेले जनतासँग गरेका वाचाहरु पुरा गर्न नसकेर आँफु कहिल्यै नभाग्ने बताउनुभयो । “जनतालाई आश्वासन होइन, विकासको लहर कसरी आउने रहेछ काम गरेर देखाउन चाहन्छु”, उहाँले भन्नुभयो, “जनतासँग भागेर निर्वाचन क्षेत्र खोज्दै आगामी चुनावमा भाग्ने काम हुनेछैन, सँधै जनताका दुखसुखमा रहनेछु ।” उहाँले चितवन–३ लाई विकासको नमुना क्षेत्र बनाउन दीर्घकालिन महत्वका विकास योजनाहरु कार्यान्वयन गर्न लागिपर्ने बताउनुभएको छ ।

चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । राप्रपाबाट प्रदेश ३ (क) मा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३ (ख) मा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैबीच, राप्रपाले चितवनका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिएको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले चुनावी तालमेलका लागि प्रयास गर्ने गरी उम्मेदवारी दिइएको बताउनुभयो । “चुनावी तालमेल भए हामी सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “सबै क्षेत्रमा चुनावी तालमेल हुन नसके हामी सबै दलसँग मित्रवत प्रतिस्पर्धामा उत्रनेछौँ ।”

राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन–१ बाट राप्रपा बागमती प्रदेशका सहसचिव मधुप कुमार भट्टराई माधव, चितवन–२ बाट युवा व्यवसायी तथा नेता रविन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै प्रदेशसभा सदस्यका लागि चितवन १(क) मा जिल्लाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामहरि कँडेल, १(ख) मा क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिनुभएको छ । यस्तै चितवन २(क) मा नेता रुक्माङगत पोखरेल, २ (ख)मा किसान संगठनका केन्द्रीय सदस्य तथा उपाध्यक्ष जगदीश्व्र अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा र एमालेबीच चुनावी तालमेल गर्ने भनिएपनि मनोनयन दर्ताकै दिनमा भने सहमति हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>