Breaking News
चितवनमा गठबन्धनबाट कांग्रेसले उम्मेदवार टुंगो लगाउनै सकेन, अझै केही समय लाग्ने

चितवन, असोज २३–
सत्तागठबन्धनमा रहेका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चितवनमा उम्मेदवार तय गरि सक्दा नेपाली कांग्रेसले अझै टुंगो लगाउन सकेको छैन । कांग्रेसले प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.२ र ३ पाएको छ भने प्रदेशसभातर्फ १ (क), २ (ख) र ३ (क) पाएको छ ।
आज विहान ८ बजेसम्ममा कुनै पनि क्षेत्रमा कांग्रेसको उम्मेदवार टुंगो नलागेको स्रोतले बताएको छ । ‘चितवनको विषयमा छलफल त भइरहेको छ तर टुंगो लागेको छैन, १० बजेभित्रमा टुंगो लाग्ने संभावना बढी छ’–स्रोतले भन्यो ।
क्षेत्र नं.२ मा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको संभावना बलियो रहेको छ । यद्यपी यसै क्षेत्रमा कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि आफ्नो दावी छाडेका छैनन् ।
क्षेत्र नं.१ मा राष्ट्रिय आयोजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संभावना बलियो छ । प्रदेशतर्फ पनि उम्मेदवार टुंगो लाग्न सकेको छैन ।
गठबन्धनबाट माओवादीले प्रतिनिधिसभातर्फ क्षेत्र नं.३ मा वरिष्ठ चिकित्सक डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ भने ३ (ख)मा माडीका निवर्तमान मेयर ठाकुरप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ । माओवादीले २ (क)मा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई उम्मेदवार बनाएको छ एउटा मात्रै टिकट पाएको नेकपा (एकीकृत समाजवादी)ले १ (ख)मा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई उम्मेदवार बनाएको छ ।


























