Breaking News

ओलीको प्रतिशोधः फरक मत राख्ने नेता दण्डित

Banner

काठमाडौँ, असोज २२–

नेकपा (एमाले)ले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरुलाई पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूसंग फरक मत राख्दै आएका नेताहरुलाई टिकट कटौती गर्दै प्रतिशोध साधेका छन् । राप्रपालाई टिकट छाड्ने बहानामा गरेपनि विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरुलाई समेत ओलीले टिकट दिएका छन् । लामो समय एमालेमा क्रियाशिल नेताहरुलाई भने ओलीले पाखा लगाएका छन् ।

अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई भने प्रतिनिधिसभा उम्मेदवारीबाट वञ्चित गरिएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।

अछाम–१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरा यो क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । १० बुँदे सहमतिको पहल गरेका रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।
अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । राप्रपाले रूपन्देहीबाट दीपक बोहोरालाई उम्मेदवार बनाउनेछ ।

ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ । सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।

अध्यक्ष ओलीलाई साथ दिँदै आएका कतिपय नेताहरू पनि यसपालि पछि परेका छन् । दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङको सट्टा व्यापारी बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>