Breaking News
प्रचण्डले चितवन छाडे, गोरखा–२ बाट चुनाव लड्ने निर्णय

चितवन, असोज २१–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने भएको छ ।
माओवादी केन्द्रको आज पेरिसडाँडामा बसेको बैठकले गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड बामगठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.३ बाट चुनाव जितेका थिए । यसपटक पनि पुनः चितवनबाटै प्रचण्ड चुनाव लड्ने तयारीमा थिए ।
तर गठबन्धन दल नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो र विभिन्न दलको ध्यानकेन्द्रित भएपछि प्रचण्ड सुरक्षित ठाउँको रुपमा गोरखा–२ रोजेका हुन् । यस क्षेत्रमा यसअघि नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई चुनाव जितेका थिए ।
प्रचण्ड चितवन छाड्ने चर्चा चलेसंगै जिल्लाका पाँच दलीय गठबन्धनले प्रचण्डलाई चितवनमै चुनाव लड्न आह्वान गर्ने निर्णय गरेको थियो । चितवनबाट विभिन्न टोली प्रचण्डलाई चितवनबाटै चुनाव लड्न डेलिगेशन समेत गएको थियो ।
गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा बाबुराम भट्टराई विजयी भएका थिए। यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए ।
विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित भएका थिए । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसकेका छन् । पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराएका थिए । अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराउनुभएको सचिव गणेश साहले जानकारी दिए। “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उनले भने।


























