Breaking News

समानुपातिकको बन्द सूचीमा परेका चितवनका चारै जना देउवा समूहका, कांग्रेस चितवनमा बढ्यो असन्तुष्टि

Banner

चितवन, असोज १९–

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्द सूचीमा चितवनका चार जना नेता परे । बन्द सूचीमा पर्नेमा पुराना नेता भिम थपलिया, संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य शान्ति परियार र नेतृ विष्णुमाया परियार छन् । यी चारै जना नेता कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् । यो सूची सार्वजनिक भएसंगै चितवन कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

चितवन कांग्रेसमा शेखर कोइराला पक्षको बहुमत रहेपनि समानुपातिकको सूचीमा देउवा समूहका नेता मात्रै परेपछि चितवनमा असन्तुष्टि बढेको छ । शेखर पक्ष नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमार्फत असन्तुष्टि पोखेका छन् । तरुण दल चितवनका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ असन्तुष्टि जनाउँदै व्यङग्यात्मक रुपमा लेख्छन्–‘पार्टी सभापति शेरबहादुर ज्यूले समानुपातिकमा चितवनलाई एकदम न्याय गर्नुभएछ, अब प्रत्यक्षमा विश्व र उमेशलाई दिनुपर्छ अनि एक्दम ठिक हुन्छ । अहिले टिकट वितरणमा हजुरले न्याय गर्नुभयो, अब मंसिर ४ मा चितवनको कार्यकताले न्याय गर्ने पालो ।’

श्रेष्ठ मात्रै होइन चितवन कांग्रेसका अधिकांश नेताहरुले असन्तुष्टि पोखेका छन् । समानुपातिकको यो निर्णयले चितवन कांग्रेसमा फेरि घातअन्तरघातको संभावना बढेको छ । यही अवस्था देखेरै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं.३ छाड्ने मनस्थितिमा पुगेका छन् ।

चितवन कांग्रेसका एक सदस्यले भने–‘समानुपातिकको बन्द सूचीले चितवन कांग्रेसलाई झस्काएको छ, यसले प्रत्यक्षतर्फको निर्वाचनमा पनि असर पर्ने देखिन्छ ।’ उनका अनुसार पार्टी सभापति देउवाले चितवन कांग्रेसलाई मिलाउन नसक्ने देखेरै माओवादी अध्यक्ष प्रचण्ड गोरखा–२ रोजेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>