Breaking News

प्रचण्ड गोरखामा चुनाव लड्ने चर्चाले चितवनमा तरङ्ग,गठबन्धनलाई धक्का लाग्ने चेतावनी

Banner

चितवन,असोज १८-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट चुनाव लड्ने चर्चा चलेपछि चितवनमा तरङ्ग पैदा भएको छ । प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन ३ का नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत गरेका छन् ।

पनेरुले फेसबुकमा स्टाटस लेख्दै देशभित्र र बाहिरका परिवर्तन विरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना गर्न खोजिएको बताएका छन् । उनले चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको भन्दै यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत दिएका छन् ।

यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास विरोधीहरु षड्यन्त्र गर्न खोजिरहेको बताएकी थिइन । भरतपुरमा विभिन्न योजनाको लागि ठेक्का आह्वान भएको बारे फेसबुकमा पोस्ट गर्दै आएकी दाहालले शुक्रबार अचानक विकास विरोधीहरु अत्तालिएको बारेको पोष्ट हालेकी हुन् ।

रेनुले फेसबुकमा लेख्दै भनेकी छन्, ‘चितवनको विकासबाट अत्तालिएकाहरू, परिवर्तनका विरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन । चितवनबासी जनसमुदायहरू होसीयार होऔँ ।’

यस्तै माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘प्रतिगामी चौतारीबाट हुने जालझेल, षड्यन्त्र र खुरापात परास्त गरिन्छ, राजनेतालाई प्रचण्ड मतले विजयी गराइन्छ । विकास र संमृद्धीको यात्रालाई पूर्णता दिइन्छ ।’
यस्तै माओवादी केन्द्र चितवनका नेता बद्री तिमिल्सिनाले क्षेत्र नम्वर ३ को पूर्ण विकासमा कताकता अलपत्र पर्छ कि भन्ने शंका लाग्न थाल्यो भन्ने फेसबुक स्टाटस लेखेका छन् । उनले चितवनमा प्रचण्डलाई नउठाउने हो भने विकास अन्धकारमा पर्छ भनेका छन् ।

चितवन ३ मा कांग्रेसको भुइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ । सोही क्षेत्रमा रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला माओवादीका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको संकेत गरेका छन् ।

चितवनमा चुनाव लड्नु प्रचण्डका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>