Breaking News
नेपाली कांग्रेसले बनायो उम्मेदवार छान्न मापदण्ड, स्थानीय तहमा उम्मेदवार बनेकाले अवसर नपाउने
काठमाडौँ, असोज १८–
नेपाली कांग्रेसले आसन्न संघ र प्रदेश निर्वाचनमा उम्मेदवार छान्न मापदण्ड बनाएको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रस्तावहरु सर्वसम्मत पारित गर्दै उम्मेदवार छान्न मापदण्ड बनाएको हो । यस्तै उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील गरेको छ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने बैठकले निर्णय समेत गरेको छ ।
यस्तै असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् बसेको बैठक प्रतिनिधि सभा एवं प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयनमा प्रवेश गरेको छ ।
कांग्रेसले विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक समेत शुभकामना व्यक्त गरेको छ ।


























