चितवन विशेष
संस्कृति जोगाउन नारायणी किनारमा लिंगे पिङ (फोटोफिचर)

पूजा ढकाल
चितवन, असोज १७–
दसैँमा एक पटक भएपनि धर्ती छाड्नु पर्छ भन्ने सांस्कृतिक मान्यता तथा धार्मिक विश्वास रहेको छ । त्यसैले त पहिले गाउँघरमा दसैं आउन भन्दा केही साता अगाडी नै पिङ राख्न सुरु गर्थे । तर अहिले गाउँमा पिङ भन्दा पनि मान्छेको हातमा मोबाइल हुने गर्छ र उनीहरु डिजिटल खेलमै बढी रुची राख्ने गर्छन् ।
पहिले एउटा गाउँ वा टोलमा एक पिङ हुन्थ्यो । दसैंको टिकाको दिन सबै एकै ठाउँमा जम्मा भएर रमाइलो गर्दै पिङ खेल्ने गर्थे । तर अहिले बालबालिका मोबाइलमा व्यस्त छन् । युवाहरु विदेश पलायन छन् । वैदेशिक रोजगारको बढ्दो मोह तथा सामाजिक सञ्जालको विकासकै कारण आज गाउँमा मात्रै होइन एउटा शहरमा समेत पिङ देख्न मुश्किल पर्ने दिन आइसकेको छ । पिङ नहुँदा संस्कृति जोगाउनु पर्छ भन्ने व्यक्तिहरु पिङ खेल्न भौतारिनुपर्ने अवस्था बनेको छ ।
यी सबै अवस्थालाई मध्यनजर गर्दै यसवर्ष दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर नारायणी किनारमा लिंगे पिङ राखिएको छ । उद्योग वाणिज्य संघ चितवनको समन्वयमा नारायणी नदी किनारमा इक्यान चितवनले पिङ राखेको हो ।

दशैको पहिलो (घटस्थापना)को दिन भरतपुर महानगरपालिका वडा नं.१ का अध्यक्ष र उद्योग वाणिज्य संघ चितवनका प्रमुख चुननारायण श्रेष्ठले संयुक्त रुपमा पिङको उदघाटन गरेका थिए । नारायणी किनारमा आउने मानिसहरुलाई लक्षित गर्दै दुई वटा लिंगे पिङ राखिएको छ ।
यस क्षेत्रमा राखिएको पिङ अब छठपछि मात्रै निकालिने छ । पछिल्लो समय युवाहरु सामाजिक सञ्जालमा व्यस्त हुने गरेको र नेपाली संस्कृती तथा परम्परा जोगाउन पिङ राखिएको बताउँदै उनले भने, ‘जमना जतिनै परिवर्तन भएपनि आफ्नो रीतिरिवाज जोगाउन अती आवश्यक छ ।’
अहिले यो पिङ खेल्न स्थानीयहरुको भिड लाग्ने गरेको छ ।




























