चितवन विशेष
भरतपुर–१ रामनगर मा.विका बिद्यार्थीलाई नयाँ लुगा सहयोग

चितवन, असोज १४–
वडा दशैंको अवसरमा भरतपुर–१ रामनगर माध्यमिक विद्यालयका बिद्यार्थीलाई नयाँ कपडा प्रदान गरिएको छ । लायन्स क्लब अफ चितवन न्यु भ्वाइसको आयोजनामा भएको नयाँ कपडा वितरण तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा २७ जना गरिब तथा विपन्न परिवारका बालबालिकालाई नयाँ लुगा प्रदान गरिएको हो ।
जन्मदिनको अवसरमा एलिना श्रेष्ठ र बिनु श्रेष्ठको आर्थिक सहयोगमा कपडा प्रदान गरिएको थियो । जन्मदिनसंगै वडा दसैं खुसीको पर्व भएकाले आफुले सक्ने सहयोग गरेको उहाँहरुले बताउनुभयो । ‘मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने दसैं चाड सबैको लागि एकै हुदैन् । धेरै नसके पनि केहिको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं,’ उहाँहरुले भन्नुभयो ।
सबैले आफ्नो जन्मदिन गरिब विपन्न परिवारलाई सहयोग गरी मनाउनुपर्ने उहाँहरुको भनाइ थियो । भव्य पार्टी गरेर जन्मदिन मनाउनुभन्दा कसैलाई सहयोग गर्नुमा आत्मसन्तुष्टि मिल्ने बताउनुभयो ।
लायन्स क्लब अफ चितवन न्यु भ्वाइसका अध्यक्ष सरिता महर्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो । लायन्सको सदस्य समेत रहेका एलिना श्रेष्ठ र बिनु श्रेष्ठलाई जन्मदिनको शुभकामना दिनुभयो । महर्जनले हरेक मान्छे परोपकारी कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । मन खोलेर खुसी साटासाट गरे कोहि गरिब र विपन्न नहुने उहाँको भनाइ छ । साथै उहाँले यश विद्यालयमा आगामी दिनहरुमा पनि थुप्रै कार्यक्रम ल्याउने बाचा गर्नुभयो।
रामनगर माध्यमिक विद्यालयका शिक्षक प्रवेश कंडेलले सहयोगको लागि लायन्सलाई कृतज्ञता व्यक्त गर्नुभयो । यस्ता सहयोगले बिद्यार्थीलाई खुसी मिल्ने र अध्यापनमा पनि सहयोग पुग्ने बताउनुभयो ।


























