चितवन विशेष

भरतपुरदेखि बीस हजारी तालसम्म साइकल यात्रा गर्दै मनाईयो पर्यटन दिवस

Banner

चितवन, असोज ११–

४३औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले आज (मंगलबार) साइकल यात्रा कार्यक्रम गरेको छ । भरतपुरदेखि सुरु भएको साइकल यात्रा बीस हजारी तालसम्म पुगेर समापन गरिएको थियो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै सेप्टेम्बर २७ तारिखलाइ विश्व पर्यटन दिवसको रुपमा मनाउने गरिएको छ ।
यस वर्षको नारा ‘पर्यटनलाई पूर्ण बिचार भन्ने रहेको छ । साइकल यात्रामा भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, विभिन्न शाखा तथा महाशाखाका प्रमुख, समाजसेवी तथा समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु, पत्रकार लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियोे । सोही कार्यक्रममा उपप्रमुख अधिकारीले भरतपुर महानगरद्वारा प्रकाशित महानगरमा अवस्थित लेकसाइट सर्किटको सक्षिप्त चिनारी नामक ब्रोसरको पनि विमोचन गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले २००३ सालमा रामसार सूचीमा सूचीकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर विश्वकै बहुमुल्य सम्पत्ति भएको बताउनुभयो । नेपालमा भएका पर्यटकिय गन्तव्यहरुको बारेमा थप प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपालले विदेशी पर्यटक र मुद्रा आर्जनमा ठूलो फड्को मार्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले बीस हजारी तालको संरक्षणमा जुट्न सबैमा आग्रह पनि गर्नुभयो ।

२०५२ सालदेखि चर्चामा आएको यस तालको कूल क्षेत्रफल ५ हजार ७ सय ८१ हेक्टर रहेको छ। भरतपुरबाट करिब ९ किलोमिटर अर्थात बीस हजार फिटको दूरीमा रहेको तालको छेउछाउमा गैंडा, जरायो, चित्तल आदि जनावरहरु सहजै देख्न सकिन्छ । यसका अलावा १ सय २५ प्रकारका चराहरु, मगर गोही तथा २५ देखी ३० प्रकारका माछाहरु पनि यसै तालमा पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा समेत राखिएको छ। वि.स. २०२२ सालमा पूर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । नेपाल सरकारले छनौट गरेका नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बीस हजारी ताल पनि परेको छ ।

हरियाली वातावरण, अनेक ताल, जीवजन्तु विशेषगरी भिभिन्न प्रकारका चराहरुले यहाँको सौन्दर्य बढाएको छ । तालमा वर्षेनी ठूलो संख्यामा विभिन्न राष्ट्रबाट मौसमी चराहरु बसाइ सरि आउने गर्दछन् । तालसम्म पुग्दा जङ्गली जनावरका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ ।

यसका साथै यो आन्तरिक तथा वाह्य पर्यटनको लागी समेत प्रसिद्ध रहेको छ । कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, पर्यटनविद् डा. विश्व सुवेदी, समाजसेवी दिनेश कुमार चुके, वे ग्रुप नेपालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>